होटल तथा रेष्टुरेष्ट बेलुकी आठ बजेपछि खोल्न नपाइने
होटल तथा रेष्टुरेष्ट बेलुकी आठ बजेपछि खोल्न नपाइने
बैशाख, ९ गोरखा जिल्लामा संचालित होटल तथा रेष्टुरेष्टहरु बेलुकी ८ बजेपछि खोल्न नपाइने भएको छ । बढ्दो कोरोना संक्रमणको जोखिमलाइ मध्यनजर गर्दै मंगलवार बसेको जिल्ला स्तरिय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले होटल तथा रेष्टुरेष्टहरु बिहान ८ देखि बेलुकी ८ बजेसम्म मात्र संचालन गर्न पाउने निर्णय गरेको हो ।
ग्राहक बिच कम्तिमा दुइ मिटर भौतिक दुरी कायम गर्ने र मास्क र सेनिटाइजर अनिवार्य गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । होटल र रेष्टुरेष्टलाइ नियमित रुपमा निसंक्रमित गर्नुपर्ने उनले जानकारी दिए । सिनेमा हल, पार्टी प्यालेस, जिम, फुटसलहरु खोल्न नपाइने भएको छ । आमसभा, भेला जस्ता कार्यक्रममा रोक लगाइएको छ । कवर्ड हलमा तथा रंगशालामा हुने दर्शक सहितको खेलकुद तथा मानिसको भिडभाड हुने सबै कार्यक्रम बैशाख मसान्तसम्मका लागी बन्द गर्ने निर्णय बैठकले गरेको छ ।
मठ(मन्दिर, मस्जिद, गुम्वा, चर्च लगायतका धार्मिक स्थलमा नित्य पुजा बाहेका अन्य सम्पूर्ण पुजाआजा समेत बैशाख मसान्त सम्मका लागी बन्द गर्ने निर्णय गरिएको प्रजिअ पौडेलले बताए । ‘विवाह, न्वारन, पास्नी, व्रतवन्ध, मलामी जस्ता अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु संचालन गर्दा बढीमा २५ जना भन्दा बढी भेला हुन नपाउने भनेका छौ,’ उनले भने, ‘स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरेका छौ ।’ विवाह वा व्रतवन्धका लागी पार्टी प्यालेस प्रयोग गर्नुपरेमा प्रशासन कार्यालयको अनुमती लिनुपर्ने छ । बढीमा २५ जना भन्दा बढी सहभागी हुन पाइने छैन ।
सभा, गोष्ठी, तालिम र प्रशिक्षण जस्ता क्रियाकलापहरु संचालन गर्दा भर्चुअल माध्यमबाट गर्नुपर्ने र भौतिक रुपमा उपस्थित भइ गर्नु परेमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने बताइएको छ । सवारी साधनको हकमा सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने र चालक तथा सहचालकले अनिवार्य रुपमा भाइजर लगाउनुपर्ने छ । सवारी साधनलाइ दैनिक रुपमा निसंक्रमित गर्नुपर्ने र याुत्रले अनिवार्य मास्क लगाउनुपर्ने बताइएको छ । आइसोलेसन, क्वारेन्टिन, शव व्यवस्थापन लगायतको जिम्मा स्थानीय तहलाइ दिने निर्णय गरिएको छ ।