उत्तरी गोरखामा ट्राउट माछा पालन शुरु
उत्तरी गोरखामा ट्राउट माछा पालन शुरु
गोरखा ः धार्चे गाउँपालिका–३ खोर्लावेशीमा ट्राउट रेम्वो माछा पालन शुरु गरिएको छ । स्थानीय केही युवाहरु मिलेर करिव १२ रोपनी जग्गामा माछा पालन शुरु गरेका हुन् । माछा पालनका लागी सात वटा पोखरी निर्माण गरिएको छ । पहिलो चरणमा २० हजार माछाका भुरा राखिएको लगानीकर्ता मध्यका एक लक्ष्मण गुरुङले बताए ।
माछाका भुरा सिन्धुपाल्चोकबाट ल्याइएको उनले जानकारी दिए । ‘एक करोड भन्दा बढी लगानी गरिसक्यौ,’ उनले भने, ‘माछा पालनकै लागी भनेर गण्डकी प्रदेश सरकारले ११ लाख रकम अनुदान समेत दिएको थियो ।’ पर्यटकीय गन्तव्य भएकाले पर्यटकलाइ लक्षित गरी माछा पालन शुरु गरिएको गुरुङले बताए । ‘ट्राउट माछा चिसो पानीमा हुने स्वाँद पनि मिठो हुने र थोरै ठाउँमा धेरै माछा पाल्न सकिने भएकाले पनि यही जातको माछा पाल्न शुरु गरेका हौ,’ उनले भने ।
उत्पादन हुने माछा स्थानीय बजार सँगै अन्य जिल्लामा पनि बिक्री वितरण गर्ने योजना रहेको उनले जानकारी दिए । आगामी दिनमा टूाउट रेम्वो माछाको भुरा समेत उत्पादन गर्ने लक्ष्य रहेको उनको भनाइ छ । धार्चे रेम्वो टूाउट एण्ड अर्गानिक होम प्रालिले संचालन गरेको माछा पोखरीमा ३० जना स्थानीयले रोजगार पाएका छन् । उक्त माछाको अहिले बजार भाउ प्रति केजी १२ सय रहेको बताइएको छ । केही दिन अघि पोखरी निरिक्षण तथा अनुगमनका लागी गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतको टोली त्यहा पुगेको थियो ।