सात स्थानीय तहको शैक्षिक संस्था बन्द
सात स्थानीय तहको शैक्षिक संस्था बन्द
बैशाख, १५ गोरखा ः जिल्लाको सात स्थानीय तहका शैक्षिक संस्थाहरुको पठनपाठन बन्द गरिएको छ । गोरखा नगरपालिका, आरुघाट, भीमसेन थापा, शहिद लखन, अजिरकोट र गण्डकी गाउँपालिकाले आज देखि लागू हुने गरी शैक्षिक संस्थामा भौतिक रुपमा उपस्थित भएर पठनपाठन गराउन नपाउने निर्णय गरेका हुन् ।
पालुङटार नगरपालिकाले भने सोमवार नै उक्त निर्णय गरिसकेको छ । कोभिड–१९ को बढ्दो संक्रमणलाइ मध्यनजर गर्दै शैक्षिक संस्थामा भौतिक रुपमा उपस्थित भएर पठनपाठन गराउन नपाउने निर्णय गरिएको पालिकाद्धारा जारी सूचनामा भनिएको छ । भर्चुअल र बैकल्पिक माध्यमबाट पठनपाठन यथावत राख्न र आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर २०७७ सालको बार्षिक परिक्षाको आन्तरिक तयारी गर्न पालिकाहरुले बिद्यालयहरुलाइ निर्देशन दिएका छन् । सिरानचोक गाउँपालिकाले भने आशिंक कक्षाहरुको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । कक्षा एक देखि पाँचसम्म र १० देखि १२ सम्मको पठनपाठन बन्द गरिएको गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए ।
धार्चे, चुमनुव्री र बारपाक सुलिकोट गाउँपालिकाले भने शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय नगरेको बताएका छन् । ‘भोली र पर्सि परिक्षा तयारी भनेर बिद्यार्थीलाइ बिदा छ, त्यो बेलासम्म कोरोनाको अवस्था के हुन्छ त्यही अनुसार बन्द गर्ने नगर्ने निर्णय गर्छाै,’ बारपाक सुलिकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारीले भने । धार्चेमा शैक्षिक संस्था बन्द गर्ने निर्णय नभएको सूचना अधिकारी सरोज शर्मा वाग्लेले बताए । चुमनुव्रीमा पनि बिद्यालय बन्द गर्ने निर्णय नगरिएको अध्यक्ष धन बहादुर गुरुङले बताए ।