मास्कमा कडाई गर्दै गोरखा प्रहरी
मास्कमा कडाई गर्दै गोरखा प्रहरी
बैशाख १८, गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले मास्कमा कडाइ गरेको छ । मास्क नलगाउनेलाई कारवाही थालिएको डिएसपी प्रकाश दाहालले बताए । बुधवार र बिहीवार गरी ९० जना कारवाहीमा परेका छन् । उनीहरुलाइ जनही एक सय रुपैया जरिवाना गराइएको प्रहरीले जनाएको छ ।
‘सदरमुकामको बजार क्षेत्रहरुमा नियमित चेकिङ भइरहेको छ,’ डिएसपी दाहालले भने, ‘मास्क नलगाउनेलाइ केही समय होल्डिङ सेन्टरमा राखेर सम्झाइ बुझाइ गर्ने र जरिवाना तिराउने गरेका छौ ।’ संक्रामक रोग ऐन २०२० अनुसार उनीहरुलाइ कारवाही गरिएको उनले बताए ।
कोभिड–१९ को बढ्दो संक्रमणलाइ मध्यनजर गर्दै मास्कमा कडाइ गरिएको उनको भनाइ छ ।
यही बैशाख १३ गतेबाट ‘मास्क खै’ अभियान पनि शुरु भएको छ । कोभिड–१९ बिरुद्ध सचेत गराउदै संक्रमणको जोखिम न्यूनिकरण गर्ने उदेश्यले अभियान संचालन गरिएको बताइएको छ । ‘पहिलो दिन सामुदायिक सेवा केन्द्रसँग समन्वय गरेर अभियानको सुरुवात ग¥यौ, त्यो अभियानलाइ अहिले हामीले निरन्तरता दिइरहेका छौ,’ डिएसपी दाहालले भने ।
अभियान अन्तरगत मास्क लगाउन अभिमुखिकरण गर्ने, नलगाउनेलाइ सम्झाइ बुझाइ गर्ने र अटेर गर्नेलाइ कारवाही गर्ने गरिएको छ । तीन सय थान मास्क समेत निशुल्क वितरण गरिएको बताइएको छ । अभियान अन्तरगत शुक्रवार प्ले कार्ड सहित मास्क अनिवार्य लगाउन भन्दै प्रहरीले कोरोना बिरुद्ध सचेत गराएको छ । प्रहरी निरिक्षक तिलक मानन्धर नेतृत्वको उक्त टोलिले बोकेको प्ले कार्डमा ‘तपाइको मास्क खै’, ‘सबै जना सजग र सतर्क बनौ,’ ‘आफू बचौ अरुलाइ पनि बचाऔ’ लगायतका सचेतनामूलक नारा लेखिएका छन् ।
गोरखा नगरपालिकाको लक्ष्मीबजार, बाह्र किलो, मझुवा, पालुङटारको ठाटीपोखरी लगायतका क्षेत्रमा पनि अभियान संचालन भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।