गोरखामा जेठ १५ सम्म निषेधाज्ञा लम्वियो
गोरखामा जेठ १५ सम्म निषेधाज्ञा लम्वियो
बैशाख ३०, गोरखा । गोरखामा थप १५ दिनका लागी निषेधाज्ञा लम्व्याइएको छ । बिहीवार बसेको जिल्ला स्तरिय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ १५ गतेसम्मका लागी निषेधाज्ञा लम्व्याउने निर्णय गरेको हो ।
यसअघि बैशाख २२ गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा लागू गरिएको थियो । कोरोना संक्रमणको दर बढ्दै गएकोले निषेधाज्ञाको अवधि थपिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । निषेधाज्ञा अवधिभर निर्माण सामग्री ढुवानीका साधनहरु वेलुकी ७ बजे देखि विहान ५ बजेसम्म मात्र संचालन गर्न पाइने छ । सहकारी, लघुवित्त इन्सुरेन्सका सबै सेवाहरु बन्द हुनेछन् । गोरखामा बाहिरी जिल्लाबाट हुने तरकारी ढुवानी पूर्ण रुपमा बन्द गर्ने बताइएको छ ।
आइसोलेसन केन्द्र निर्माणका लागी बिभिन्नि राजनितिक दल तथा संघसंस्थाबाट प्राप्त भवनमा आवश्यकता तथा चिकित्सकीय एवं प्राविधिक उपयुक्तताको आधारमा आइसोलेसन केन्द्र निर्माण, संचालन र व्यवस्थापन गोरखा नगरपालिकाले गर्ने निर्णय बैठकले गरेको छ । चिकित्सकिय सेवा गोरखा अस्पतालले उपलब्ध गराउनुपर्ने छ । आइसोलेसन केन्द्र निर्माण, संचालत तथा व्यवस्थापनका लागी गण्डकी प्रदेशको सामाजिक बिकास मन्त्रालयसँग ५० लाख रकम माग गर्ने निर्णय बैठकले गरेको छ ।
बजेट प्राप्त नभएसम्म त्यसको व्यवस्थापन गोरखा नगरपालिका आफैले गर्नुपर्ने भनिएको छ । आइसोलेसन केन्द्रमा जिल्ला स्थित नीजि अस्पतालले आवश्यकता अनुसार जनशक्ति, मेसिनरी औजार, वेड तथा स्वास्थ्य सामग्री उपलब्ध गराउनुपर्ने बताइएको छ ।