गोरखा अस्पतालमा अक्सिजन प्लान्ट जडान, केही दिनमा उत्पादन शुरु हुने
गोरखा अस्पतालमा अक्सिजन प्लान्ट जडान, केही दिनमा उत्पादन शुरु हुने
जेठ ३, गोरखा । गोरखा अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । तर अक्सिजन उत्पादनको काम केही दिनमा शुरु हुने बताइएको छ । अस्पतालको निर्माणाधिन भवनमा प्लान्ट जडान गरिएको सूचना अधिकारी कृष्ण ढकालले बताए ।
‘अस्पतालको नयाँ बन्दै गरेको भवनमा प्लान्ट जडान गर्नकै लागी छुट्टै कोठा बनेको छ,’ उनले भने, ‘त्यही कोठामा प्लान्ट जडान गरेका हौ ।’ पाइपलाइन बिस्तारको काम भने बाँकी रहेको उनले जानकारी दिए । कोरोना संक्रमितको उपचारका लागी निर्माण गरिएको आइसोलेसन बेडमा तत्कालका लागी अस्थायी रुपमा पाइपलाइन जडान गर्ने तयारी भइरहेको उनले बताए । ‘नयाँ भवनको बिरामी भर्ना हुने सबै वार्डमा स्थायी रुपमा पाइपलाइन जडान भइसक्यो तर, भवनको काम सकिएको छैन, त्यसैले अहिले संक्रमितको उपचारका लागी बनाइएको आइसोलेसन वार्डमा अस्थायी रुपमा पाइपलाइन जडान गरेर अक्सिजनको व्यवस्था गर्न लागेका हौ,’ उनले भने ।
हाल अस्पतालमा संक्रमितका लागी निर्माण गरिएको आइसोलेसनमा १४ वेड छन् । प्रदेश सरकारबाट प्राप्त २५ वटा एचडियू वेड जडानको काम पनि भइरहेको अस्पतालले जनाएको छ । हाल चार जना संक्रमित उपचाररत रहेको ढकाल बताउछन् । प्लान्ट जडानका लागी गत बर्ष गण्डकी प्रदेश सरकारबाट ४९ लाख बजेट प्राप्त भएको थियो । तर अस्पतालको नयाँ भवन निर्माण कार्यले पूर्णता नपाउँदा जडान हुन सकेको थिएन । ‘गत असोजमा भवन बनिसक्छ अनि प्लान्ट जडान गर्ने भन्ने थियो, तर भवनको काम सकिएन, अहिले कोरोना संक्रमितको उपचारका लागी अक्सिजन बढी चाहिने भयो, त्यसैले प्लान्ट जडान गरेका हौ,’ उनले भने ।
जडान गरिएको प्लान्टबाट प्रति मिनेट ८० लिटर अक्सिजन उत्पादन हुने उनले बताए । ‘प्लान्ट जडान गरेर उत्पादन शुरु भएपछि एकै पटक कम्तिमा दश जनालाइ अक्सिजन दिन मिल्छ,’ उनले भने । अहिले बाहिरबाट अक्सिजन खरिद गरेर ल्याउनुपर्ने अवस्था रहेको बताउदै उनले थपे, ‘यही उत्पादन हुन थालेपछि बाहिरबाट ल्याउनुपर्ने भार पनि कम हुन्छ ।’ अवको केही दिनमा अक्सिजन उत्पादन हुने र बिरामीको उपचारमा सहज हुने अपेक्षा गरिएको छ ।