चार बिद्यार्थी संगठनद्धारा प्रधानमन्त्रीको पुत्ला दहन
चार बिद्यार्थी संगठनद्धारा प्रधानमन्त्रीको पुत्ला दहन
असार १७ गोरखा । जिल्लाका चार दलका बिद्यार्थी संगठनले वुधवार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।
प्रतिनिधी सभा बिघटनको बिरोधमा प्रधानमन्त्री ओली बिरुद्ध प्रदर्शन गर्दै उनीहरुले पुत्ला दहन गरेका हुन् । नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघ, एमाले निकट अनेरास्ववियू, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र जनता समाजवादी पार्टी निकट समाजवादी बिद्यार्थी यूनियन गोरखाले संयुक्त रुपमा राँके जुलुस समेत निकालेका छन् । बसपार्कबाट शुरु भएको जुलुस बिसौनी हुदै हरमटारीचोकमा आएर कोणसभामा परिणत भएको हो ।
पुत्ला दहन र राँके जुलुसमा प्रहरीले हस्तक्षप गरेपछि केही वेर धकाला धकेल समेत भएको थियो । कोणसभामा नेविसंघका जिल्ला अध्यक्ष सुवास अधिकारी, अनेरास्ववियू अध्यक्ष सचिन भट्टराई, अखिल क्रान्तिकारी इन्चार्ज रामकृष्ण भट्ट लगायतले सम्वोधन गरे । प्रधानमन्त्रीले चालेको कदमको बिरोध गर्दै उनीहरुले सरकार बिरुद्ध नारावाजी समेत गरेका छन् ।