बर्षाले ढुङ्गागाढे बुंकोट नाम्जुङ सडक कालोपत्रेको काम प्रभावित
बर्षाले ढुङ्गागाढे बुंकोट नाम्जुङ सडक कालोपत्रेको काम प्रभावित
असार २३, गोरखा । लगातारको बर्षातका कारण ढुङ्गागाढे चोक–बुंकोट–नाम्जुङ्ग सडकखण्ड कालोपत्रेको काम प्रभावित बनेको छ ।
केही दिन देखि काम हुन नसकेको पूर्वाधार बिकास कार्यालयले जनाएको हो ।
‘ढुङ्गागाढे चोक देखि छेलाङ्गी चोकसम्मको १२ किलोमिटर सडकखण्डमा पहिलो लेयरको वेशको काम फाइनल भइसक्यो,’ कार्यालयका इन्जिनियर गणेश सुवेदीले भने, ‘बिटामिन राखेर कालोपत्रे गर्ने काम हुदै थियो तर पानीले डिस्टव ग¥यो ।’ मौसम सफा भएर केही दिन घाम नलागेसम्म काम गर्न मुश्किल हुने उनले बताए । उनका अनुसार हालसम्म चार किलोमिटर सडकखण्ड कालोपत्रे भइसकेको छ ।
बाँकी भागमा वेश फाइलन भइसकेको छ । प्राइम कोट लगाएर चिप्स हाल्ने काम बाँकी रहेको उनले जानकारी दिए । बिविएसटी प्रविधिबाट कालोपत्रे गरिने उक्त सडकको काम दुई बर्षमा सक्ने गरी २०७७ साल कात्तिक महिनामा ठेक्का सम्झौता भएको हो । करिव ३३ करोडमा लामा कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता भएको कार्यालयले जनाएको छ ।
सडक कालोपत्रेका लागी चालु आर्थिक बर्ष ११ करोड रकम विनियोजन भएको छ । हालसम्म ७५ प्रतिशत काम सम्पन्न भएको कार्यालयका इन्जिनियर सुवेदीले बताए । नाम्जुङ–घैरुङ हुदै मनकामना सम्मको सडक कालोपत्रे गर्ने योजना रहेको उनले जानकारी दिए ।