बेपत्ता प्रहरी जवानको खोजीमा बिज्ञ टोली खटियो
बेपत्ता प्रहरी जवानको खोजीमा बिज्ञ टोली खटियो
असार २८, गोरखा । करिव एक महिना देखि वेपत्ता रहेका प्रहरी जवानको खोजी कार्यका लागी खोजी तथा उद्धार कार्यका बिज्ञ टोली गोरखा आएको छ । गण्डकी प्रदेशबाट सहायक प्रहरी निरिक्षकको कमाण्डमा सात जनाको टोली खटिएको गोरखा प्रहरी प्रमुख एसपी शेखर खनालले बताए ।
‘सम्पर्क विहिन भएका जवानको खोजीका लागी हामीले प्रदेश प्रहरी कार्यालयलाई अनुरोध गरेका थियौ,’ उनले भने, ‘प्रदेशले सात जनाको टोली खटाएको छ ।’ कुकुर सहित आएको उक्त टोली शनिवार गोरखा आएको र सोही दिन आरुघाट पुगेको उनले जानकारी दिए । ‘हिजो आरुघाटमा बस्नुभयो, आज उहाहरुसँगै इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी निरिक्षकको कमाण्डमा थप सात जना टोली उत्तरी गोरखा तर्फ लाग्नुभएको छ,’ एसपी खनालले भने ।
कञ्चनपुर जिल्ला घर भइ हाल उत्तरी गोरखाको सामागाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मोहनसिंह कुवँर यही असार १ गतेबाट सम्पर्क विहिन छन् । घर बिदाबाट कार्यक्षेत्र फर्कने क्रममा खोर्लावेशीबाट उनी सम्पर्क विहिन भएको एसपी खनालले बताए । ‘अघिल्लो दिन खोर्लावेशीमा वास बसेर असार १ गते बिहान त्यहा बाट हिडेको मान्छे त्यसपछि सम्पर्क विहिन छ,’ उनले भने ।
बहिनीको बिवाहका लागी भन्दै उनी घर बिदामा गएका थिए । प्रहरीका अनुसार बिदा सकेर हाजिर हुनका लागी जिल्ला प्रहरी कार्यालयमा जानकारी नगराई उनी सिधै कार्यक्षेत्र सामागाउँ प्रहरी चौकीका लागी हिडेका थिए । तर खोर्लावेशीबाट सम्पर्क विहिन भएको एसपी खनालले बताए ।