पृथ्वी राजमार्गले आज देखि लामो दुरीका सवारी चलाउने
पृथ्वी राजमार्गले आज देखि लामो दुरीका सवारी चलाउने
असार ३०, गोरखा । पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रालिले आजदेखि लामो दुरीका यातायात संचालन गर्ने भएको छ । प्रधान कार्यालय पोखराको निर्णय अनुसार सवारी संचालन गर्न लागिएको प्रालिको गोरखा शाखाका क्षेत्रिय सदस्य विपिनचन्द्र ढकालले बताए ।
यद्यपी सरकारले भने कोभिड–१९ का कारण लामो दुरीका यातायात संचालनमा रोक लगाउदै आएको छ । ‘भोली पहिलो दिन पोखराबाट नियमित रुटमा चल्ने चार वटा गाडी यात्रु बोकेर गोरखा आउछ,’ ढकालले भने, ‘पर्सिदेखि हामी गोरखाबाट हाम्रो नियमित रुटमा गाडी छुटाउछौ ।’ काठमाण्डौ, पोखरा, भैरहवा, बिरगंज, बेशिशहर लगायतका ठाउँमा बिहीवारबाट नियमित गाडी छुट्ने उनले बताए ।
‘प्रधान कार्यालयले भोली ५ शय गाडी छुटाउने र त्यसपछि नियमित छुटाउदै लैजाने निर्णय गरेको छ, आज गोरखा शाखाका पदाधिकारीहरु बिच छलफल ग¥यौ र संचालनको तयारी गरेका हौ,’ उनले भने । निषेधाज्ञाको अवधिमा यातायात व्यवसायी लक्षित कुनै राहतका कार्यक्रम नआएकाले सवारी संचालन गर्न बाध्य भएको ढकालले बताए ।
‘मूल्य वृद्धि भइरहदा पनि २०५९ सालमा निर्धारण गरिएको भाडादर कायम छ, कुनै समायोजन भएको छैन, सवारी नचलेको समयमा पनि इन्यूरेन्स तिर्नुपरेको छ, बैकको व्याज तिर्ने समयावधि केही थप भएन, यसरी त व्यवसायी र मजदुर रोगले होइन भोकले मर्ने भए त्यसैले की राहतको प्याकेज ल्याउनुप¥र्याे, होइन भने हामी सवारी संचालन गर्छाै,’ उनले भने । प्रशासनले भने लामो दुरीका सवारी चल्न नदिने बताएको छ ।
जिल्ला कोभिड व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल भन्छन्, ‘अहिले निषेधाज्ञा छ, फेरी लामो दुरीमा सवारी चल्न दिने भन्ने निर्णय भएको छैन, अनि कसरी चल्न दिन सकिन्छ ।’ अन्तर जिल्ला सवारी संचालन गर्न खोज्नेलाइ मझुवा नाकामा रोकिने उनले बताए । यसबारे केन्द्रमा समेत छलफल भइरहेको उनले जानकारी दिए ।
‘केन्द्रमा पनि छलफल भइरहेको छ, सिसिएमसीको बैठक बसेर चल्न दिने भन्ने निर्णय गरेभने हामी पनि दिन्छौ, होइन भने रोक्छौ,’ उनले भने । जिल्लामा यातायाता सेवा दिइरहेको दरौदी यातायात सेवा प्रालिले भने लामो दुरीमा सवारी संचालनको कुनै योजना नभएको बताएको छ ।
‘सरकारले लामो दुरीमा सवारी चल्न रोक लगाएको छ, राज्यको निर्णयलाइ हामी पालना गर्छाे, आधिकारीक रुपमा नखुलाएसम्म हामी चलाउदैनौ,’ प्रालिका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले भने ।