मानव सेवा आश्रमद्धारा आरुघाटबाट दुई जनाको उद्धार
मानव सेवा आश्रमद्धारा आरुघाटबाट दुई जनाको उद्धार
असार ३१, गोरखा । मानव सेवा आश्रम गोरखाले आरुघाट गाउँपालिकाबाट दुई जनाको उद्धार गरेको छ । ५६ बर्षिया महिला र ५५ बर्षिय पुरुषको उद्धार गरिएको आश्रमकी जिल्ला संयोजक मुना लामाले बताइन् । उद्धार गरिएको महिला विगत केही बर्ष देखि आरुघाट गाउँपालिकाको सार्वजनिक स्थलमा रात बिताउँदै आएकी थिइन् ।
मानसिक सन्तुलन गुमाएकी उनी मागेर पेट भर्ने गर्थिन् । आफ्नो नाम र ठेगाना समेत बताउन सक्ने अवस्थामा नरहेकी उनलाई गाउँपालिकाको समन्वयमा सोमवार उद्धार गरिएको लामाले बताइन् । उनीसँगै उद्धार गरिएका पुरुष पनि सडक पेटीमा रात बिताउदै आएका थिए । बजारमा माग्दै हिड्ने र मानसिक सन्तुलन समेत गुमाएका लोक प्रसाद अधिकारी नाम बताउने उक्त पुरुषलाई पनि उद्धार गरिएको आश्रमले जनाएको छ ।
उनीहरुलाइ उद्धार गरेर आश्रमको पोखरा शाखामा पठाइएको लामाले जानकारी दिइन् । आरुघाटबाट गोरखासम्म उद्धारका लागी गोरखा नगरपालिकाले निशुल्क एम्वुलेन्स उपलब्ध गराएको थियो ।