मापसे गरेर सवारी चलाउने ५२ चालकलाई कारवाही
मापसे गरेर सवारी चलाउने ५२ चालकलाई कारवाही
साउन ७, गोरखा । मादक पदार्थ सेवन गरेर सवारी चलाउने ५२ जना चालक कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयको गत आर्थिक बर्ष २०७७÷७८ को तथ्याङ्क अनुसार कारवाही पर्नेमा सबैभन्दा बढी मोटरसाइकल चालक रहेका छन् ।
४१ जना मोटरसाइकल चालकलाई कारवाही गरिएको जिल्ला ट्राफिक इन्चार्ज मित्रलाल ढकालले बताए । आठ जना कार तथा जिप चालक र तीन जना टेक्टर चालक कारवाहीमा परेको उनले जानकारी दिए । कारवाही स्वरुप उनीहरुबाट ५२ हजार राजश्व संकलन भएको छ ।
‘पहिले मापसे गरेर सवारी चलाउनेको लाइसेन्स प्वाल पारिन्थ्यो,’ ढकालले भने, ‘अहिले अधिकांशको डिजिटल लाइसेन्स भएकाले कारवाहीका लागी यातायात बिभागमा पठाउने गरेका छौ ।’ उनका अनुसार अघिल्लो आव मापसे गरेर सवारी चलाउने ८२ जना चालक कारावाहीमा परेका थिए । उनीहरुबाट ८२ हजार राजश्व रकम संकलन भएको थियो ।
६० लाख बढी राजश्व संकलन
गत आवमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले ६० लाख २९ हजार ५ शय राजश्व संकलन गरेको छ । नियम उल्लघंन गर्ने ८ हजार ५ शय सवारीलाई कारवाही गर्दा उक्त राजश्व रकम संकलन भएको कार्यालयका इन्चार्ज ढकालले बताए ।
सबैभन्दा बढी मोटरसाइकल बाट २१ लाख ६३ हजार राजश्व संकलन भएको छ । कुल २ हजार ९ शय ८५ मोटरसाइकल करवाहीमा परेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार १ हजार ५ शय ८४ ट्रक तथा टिपर कारवाहीमा परेका छन् । उनीहरुबाट ११ लाख ३५ हजार राजश्व संकलन भएको छ ।
‘गत आव १ हजार ४ शय ६९ ट्याक्टर, १ हजार ४ शय ५८ कार तथा जिप र १ हजार ४ बस कारवाहीमा परे,’ ढकालले भने, ‘उनीहरुबाट क्रमश १० लाख २६ हजार, १० लाख १६ हजार र ६ लाख ८८ हजार राजश्व रकम संकलन भयो ।’ अघिल्लो आर्थिक बर्ष ७२ लाख राजश्व संकलन भएको थियो । कुल १० हजार १ शय ५० सवारी कारवाहीमा परेका थिए ।
सवारी दुर्घटनामा ११ को मृत्यु
गत आव जिल्लामा सवारी दुर्घटनामा परी ११ जनाको ज्यान गएको छ । कुल १७ वटा सवारी दुर्घटनामा परेको थियो । दुर्घटनामा परि १६ जना गम्भिर र ४१ जना सामान्य घाइते भएको कार्यालयले जनाएको छ । दुर्घटना न्यूनिकरणका लागी जिल्लामा बिभिन्न अभियान संचालन गर्दै आएको कार्यालयले जनाएको छ । आगामी दिनमा पनि उक्त अभियानालाइ निरन्तरता दिइने बताइएको छ ।