छाडा कुकुरको बन्ध्याकरण गरिने
छाडा कुकुरको बन्ध्याकरण गरिने
साउन ७, गोरखा । जिल्लामा पहिलो पटक कुकुरको बन्ध्याकरण कार्यक्रम सञ्चालन हुने भएको छ । प्रदेश सरकारले रेविज रोग नियन्त्रणका लागि जिल्लामा पहिलो पटक कुकुरको बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
प्रदेशको भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत वर्ष तनहुँ, कास्की लगायतका जिल्लामा परिक्षणका रुपमा यो कार्यक्रम सञ्चालन गरिसकेको छ । त्यसैको अनुभवका आधारमा यो वर्ष गोरखामा पनि नमुनाको रुपमा बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत एवम् प्रवक्ता डाक्टर गृष्म न्यौपानेले बताए ।
उक्त कार्यक्रमका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलाई ३ लाख रुपैयाँ वजेट पठाइएको उनले जानकारी दिए । जिल्लामा छाडा कुकुरको संख्या बढी भएका ठाऊँहरुमा शिविर गरेर बन्ध्याकरण गर्ने योजना रहेको न्यौपानेको भनाई छ । जिल्लाको सदरमुकाम क्षेत्रमा सामुदायिक अर्थात छाडा कुकुरको संख्या धेरै छ । केही वर्ष पहिले गोरखा नगरपालिकाले कुकुर मार्ने कार्यक्रम सञ्चालन गरेपनि पशु अधिकारकर्मीहरुले विरोध जनाएपछि रोकिएको थियो ।
छाडा कुकुरबाट थप सन्तान उत्पादन नहोस् भनेर कुकुरको बन्ध्याकरण गर्ने गरिन्छ । कुनै पनि जनावर मार्न नपाइने अन्तर्राष्ट्रिय मान्यताका कारण कुकुरलाई बन्ध्याकरण गरि प्रजनन दर घटाउनका लागि कार्यक्रम सञ्चालन गर्न लागिएको भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डाक्टर न्यौपानेल बताए ।
विश्वमा सन् १९८६ मा कुकुरको बन्ध्याकरण अभियान शुरु भएकोमा नेपालमा भने सन् २०१० बाट यो अभियान शुरु भएको हो । जनावरको सुरक्षा, स्वास्थ्य र उद्धारको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था हिमालयन एनिमल रेस्क्यु ट्रष्टको सहयोगमा देशका विभिन्न पालिकाले कुकुरको बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
गोरखामा बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्नका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्राविधिकहरुलाई अभिमुखीकरण गर्न थालिएको मन्त्रालयले जनाएको छ । जनशक्ति अपुग भएमा अन्य निकायबाट पनि सहयोग लिन सकिने प्रवक्ता न्यौपानेले बताए । जनशक्ति र प्रविधिको उपलब्धताका आधारमा जिल्लाका छाडा कुकुर धेरै भएका अन्य ठाऊँहरुमा पनि बन्ध्याकरण कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए ।