९० प्रतिशत धान रोपाई सकियो
९० प्रतिशत धान रोपाई सकियो
साउन १२, गोरखा । जिल्लामा ९० प्रतिशत धान रोपाई सकिएको छ । धान खेती हुने अधिकांश फाटहरुमा रोपाइ भइसकेको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ । अधिकांश किसानहरुले सावित्री, हर्दिनाथ, रामधान, मकवानपुर जातका धान लगाएको कार्यालय प्रमुख परशुराम अधिकारीले बताए ।
अघिल्लो बर्षतको तुलनामा यस बर्ष चाडै रोपाइ भएको उनले जानकारी दिए । ‘यो बर्ष मनसुन चाडै शुरु भयो, त्यसैले धान रोपाई पनि चाडै भयो,’ उनले भने । गत बर्ष हालसम्म बढीमा ८० प्रतिशत मात्र धान रोपाई सकिएको उनको भनाइ छ । उनका अनुसार जिल्लाको १२ हजार ९ शय २० हेक्टर क्षेत्रफलमा धान खेती हुदै आएको छ ।
बार्षिक रुपमा करिव ४७ हजार मेट्रिक टन धान उत्पादन हुन्छ । धान खेती हुने क्षेत्रमध्ये ३ हजार १८ हेक्टर क्षेत्रफलमा बाह्रै महिना सिंचाइको सुविधा रहेको छ । बाँकी मौसमी सिंचाइको भर पर्नुपर्ने अवस्था छ । जिल्लाको भुसुण्डे फाँट, निवेल फाँट, पिपलटार, ज्यादुल खोला फाँट, घ्याल्चोक लगायतका क्षेत्रमा धान खेती हुने गर्छ । दरौदी करिडोर क्षेत्रको धान खेती हुने करिव ५ शय हेक्टर क्षेत्रफल समेटेर धान जोन कार्यक्रम लागू गरिएको छ ।
त्यस्तै आरुघाट गाउँपालिका र शहिद लखन गाउँपालिकामा धान ब्लक कार्यक्रम संचालनमा छन् । आरुघाट गाउँपालिकाको वडा नम्वर ५, १० र ११ को दुई हजार रोपनी क्षेत्रफललाइ समेटेर धान ब्लक कार्यक्रम संचालन गरिएको हो ।
त्यस्तै शहिद लखन गाउँपालिका र भीमसेन थापा गाउँपालिकाको सिमानामा पर्ने ज्यादुल खोला फाँटको पनि दुई हजार रोपनी क्षेत्रफलमा ब्लक कार्यक्रम संचालन गरिएको छ । पालिका स्तरमा धान पकेट कार्यक्रम पनि संचालन भइरहेको कार्यालयले जनाएको छ ।
धान ब्लक संचालन भएको ठाउँमा धानका उन्नत बिउ, मेसिनरी उपकरणहरु कार्यालयले अनुदानमा उपलब्ध गराउदै आएको अधिकारीको भनाइ छ । यस बर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको उनले बताए ।