सम्बन्ध बिच्छेद गर्ने बढे
सम्बन्ध बिच्छेद गर्ने बढे
साउन १४, गोरखा । गत आर्थिक बर्ष २०७७÷७८ मा गोरखा जिल्ला अदालतमा सबैभन्दा धेरै सम्बन्ध बिच्छेदका मुद्धा दर्ता भएका छन् ।
कुल ७ शय २८ मध्ये ३ शय ५१ सम्बन्ध बिच्छेदका मुद्धा रहेको अदालतले जनाएको छ ।
‘गत आव ४ शय १५ नयाँ र जिम्मेवारी सरि आएको ३ शय १३ गरी कुल ७ शय २८ मुद्धा थियो,’ जिल्ला न्यायाधिश दिनवन्धु बरालले भने, ‘ती मध्ये ३ शय ५१ वटा सम्बन्ध बिच्छेदका थिए, यो कुल मुद्धाको ४८.२१ प्रतिशत हो ।’ ती मध्ये २ शय ५२ मुद्धा फछ्र्याैट भएको उनले बताए । अधिकांश मुद्धामा मेलमिलाप गरेर पठाइएको उनले जानकारी दिए ।
उनका अनुसार सम्बन्ध बिच्छेदका मुद्धा फछ्र्याैटको प्रगति ७१.७९ प्रतिशत रहेको छ । सम्बन्ध बिच्छेद गर्नेमा २४ देखि ४० उमेर समूहका रहेका छन् । बैदेशिक रोजगारमा जानेहरुको बढी सम्बन्ध बिच्छेद हुने गरेको अदालतको ठम्याई छ । सम्बन्ध बिच्छेद पछि जवरजस्ती करणीका मुद्धा धेरै रहेको अदालतले जनाएको छ ।
अदालतको प्रगति ५८ प्रतिशत
गत आव जिल्ला अदालतको मुद्धा फछ्र्याैट प्रगति ५८.०२ प्रतिशत रहेको छ । कुल ७ शय २८ मध्ये ४ शय २३ मुद्धा फछ्र्याैट गरिएको वुधवार पत्रकार भेटघाटमा जिल्ला न्यायाधिश बरालले बताए ।
‘गत बर्ष ४ शय १५ नयाँ मुद्धा दर्ता भएको थियो, जिम्मेवारी सरि आएको ३ शय १३ मुद्धा थिए,’ उनले भने, ‘त्यी मध्ये जिम्मेवारी सरेकोबाट २ शय २१ र नयाँ लगतबाट २ शय २ मुद्धा फछ्र्याैट ग¥यौ ।’ दुनियावादी देवानी तर्फ २ शय ९८, सरकारवादी फौजदारीका १ शय १० र दुनियावादी फौजदारीका १४ मुद्धा गत आव फछ्र्याैट भएका छन् ।
पुनरावेदन तर्फको एउटा मुद्धा पनि फछ्र्याैट गरिएको बरालले बताए । ३ शय ५ मुद्धा फछ्र्याैट हुन बाँकी रहेको अदालतले जनाएको छ । जिम्मेवारी सरेर आएको ९२ र गत आव दर्ता भएका २ शय १२ मुद्धा फछ्र्याैट हुन बाँकी छन् । फछ्र्याैट हुन बाँकी रहेकामध्ये सबैभन्दा धेरै १ शय ९३ दुनियावादी देवानी मुद्धा रहेको जिल्ला न्यायाधिश वरालले बताए ।
त्यस्तै गत आव कैद जरिवाना स्वरुप अदालतले २ करोड २० लाख ४८ हजार राजश्व संकलन गरेको छ । १४ करोड ८७ लाख २९ हजार जरिवाना उठ्न बाँकी रहेको बताइएको छ ।