सिल हुदैँ वडाहरु
सिल हुदैँ वडाहरु
साउन १८, गोरखा । पालुङटार नगरपालिका वडा नम्वर १ सिल गरिएको छ । आइतवार राती १२ बजे देखि लागू हुने गरी २३ गतेसम्मका लागी वडा सिल गरिएको कार्यवहाक वडाध्यक्ष सन्तोष पोखरेलले बताए ।
आइतवार सार्वजनिक सूचना जारी गर्दै वडाले सो अवधिभर वडाभित्र संचालन हुने सवारीसाधन, होटल, व्यापार व्यवसाय, बैक, सहकारी तथा वित्तिय संस्थाहरु पूर्ण रुपमा बन्द रहने जनाएको छ । कोभिड–१९ सम्बन्धी अत्यावश्यक वाहेकका वडाबाट प्रवाह हुने अन्य सवै सेवा बन्द रहने कार्यवहाक अध्यक्ष पोखरेलले बताए ।
‘वडामा कोरोना संक्रमितको संख्या बढेकाले रोकथाम तथा नियन्त्रणका लागी शिल गर्ने निर्णय गरेका हौ,’ उनले भने, ‘अवेज्ञा गर्नेलाई कानून अनुसार कारवाही गर्छाै ।’फैलदो कोरोना भाइरसको संक्रमण दर नियन्त्रण तथा न्यूनिकरणका लागी भन्दै आरुघाट गाउँपालिका वडा नम्वर ९ पनि सिल गरिएको छ ।
आइतवार राती १२ बजे देखि लागू हुने गरी यही साउन २४ गतेसम्म वडा सिल गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । आइतवार सार्वजनिक सूचना जारी गर्दै पालिकाले सो वडामा सार्वजनिक र निजि सवारी संचालनमा गर्न नपाउने जनाएको छ । तर अन्य स्थानबाट अत्यावश्यक कामका लागी सो वडाको सिमाक्षेत्र भएर जाने सवारीलाई भने गन्तव्यमा जान कुनै वाधा नहुने गाउँपालिका अध्यक्ष पूर्ण दाहालले बताए ।
‘वडा नम्वर ९ भित्र संचालित सम्पूर्ण सरकारी कार्यालय, बैक तथा वित्तिय संस्थाहरुबाट प्रवाह हुने अत्यावश्यक बाहेकका अन्य सबै सेवा बन्द हुनेछन्,’ उनले भने । दैनिक उपभोग्य खाद्यान्न, तरकारी तथा फलफुलका, माछा, मासु, निर्माण सामग्रीका पसलहरु बिहान ५ बजेदेखि ८ बजेसम्म मात्र संचालन गर्न पाइने उनले बताए ।