मास्क नलगाउनेलाई कारवाही शुरु
मास्क नलगाउनेलाई कारवाही शुरु
साउन २०, गोरखा । मास्क नलगाई हिडडुल गर्नेलाइ प्रहरीले कारवाही थालेको छ । मंगलवार २१ जनालाई कारवाही गरिएको प्रहरीले जनाएको छ । कारवाही पर्नेमा पैदल यात्रु, व्यवसायी, मजदुर, सवारी चालक र यात्रु रहेका छन् ।
जिल्लाको बजार क्षेत्रमा विना मास्क हिडडुल गरेका उनीहरुलाइ कारवाही स्वरुप एक सय रुपैयाका दरले जरिवाना तिराइएको डिएसपी प्रकाश दाहालले बताए । कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार उनीहरुलाइ कारवाही गरिएको हो ।
सोमवार जिल्लाको बिभिन्न ठाउँमा मास्क खै अभियान संचालन गरेर सचेत गराइएको र मंगलवारबाट कारवाही प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए । ‘कोरोना संक्रमण दर बढ्दो छ, तर स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन आनाकानी गरेको देखिन्छ,’ उनले भने, ‘स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउन कारवाही थालेका हौ ।’
बजार क्षेत्रमा चेकजाँच बढाइएको र वुधवारबाट थप कडाइ गर्ने उनले बताए । जिल्लाको मुख्य बजार क्षेत्रमा चेकजाँच गरिने उनको भनाइ छ । बाहिर हिडडुल गर्दा अनिवार्य मास्क लगाउन प्रहरीले आग्रह समेत गरेको छ । निषेधाज्ञा कार्यान्वयनमा पनि थप कडाइ गरिने बताइएको छ ।