कोरोनाले घटायो गोरखा संग्रहालयको राजश्व
कोरोनाले घटायो गोरखा संग्रहालयको राजश्व
साउन २०, गोरखा । निषेधाज्ञाका कारण गोरखा संग्रहालयको राजश्व घटेको छ । अघिल्लो र गत आर्थिक बर्षको तुलना गर्दा आधा भन्दा बढीले राजश्व घटेको संग्रहालयले जनाएको छ ।
संग्रहालय प्रमुख नवराज अधिकारीका अनुसार अघिल्लो आर्थिक बर्ष २०७६÷७७ मा १५ लाख ७८ हजार राजश्व रकम संकलन भएको थियो । तर गत आव २०७७÷८८ मा ८ लाख ६० हजार मात्र राजश्व संकलन भएको उनले बताए । कोरोना रोकथाम तथा नियन्त्रणका लागी जारी गरिएको निषेधाज्ञाका कारण राजश्व रकम घटेको उनको भनाइ छ ।
‘गत आर्थिक बर्ष ६ महिनामात्रै संग्रहालय खुल्यो,’ उनले भने, ‘पर्यटक आउने सिजनमा संग्रहालय बन्द भएकाले राजश्व कम उठेको हो ।’ साउन देखि कात्तिक महिना बन्द रहेको संग्रहालय बैशाख तेस्रो साता देखि हालसम्म बन्द छ । ‘कात्तिक देखि पुषसम्म शैक्षिक भ्रमणको सिजन हो, तर यो बर्ष बिद्यार्थी नै आएनन्, बैशाख जेठ एडल्टहरु र तराइका पर्यटक आउने सिजन हो, तर संग्रहालय बन्द भयो ।
पर्यटक आउने सिजनमा संग्रहालय बन्द भएपछि राजश्व रकम पनि कम उठ्यो,’ अधिकारीले भने । गत आर्थिक बर्ष संग्रहालय घुम्ने पर्यटकको संख्या ३३ हजार दुइ जना रहेका छन् । २६ हजार ३६९ साधारण नेपाली, ६ हजार ५ शय ९१ नेपाली बिद्यार्थी, सार्क राष्ट्रका ९ र ३३ जना अन्य राष्ट्रका बिदेशीले संग्रहालय भ्रमण गरेका हुन् ।
अघिल्लो आवमा ७६ हजार ३७९ पर्यटकले संग्रहालय घुमेका थिए । संग्रहालय प्रवेशका लागी बिद्यार्थीलाई दश रुपैया, साधारण नेपालीलाई २५, सार्क राष्ट्रका पर्यटकलाई ५० र अन्य राष्ट्रका नागरिकलाई एक सय रुपैया प्रवेश शुल्क निर्धारण गरिएको छ ।