उत्तरी गोरखाको घरघरमा धारा जडान हुदैँ
उत्तरी गोरखाको घरघरमा धारा जडान हुदैँ
साउन २५, गोरखा । भौगोलिक बिकटता रहेको उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका स्थित प्रत्येक घरधुरीमा धारा जडानको काम भइरहेको छ ।
गण्डकी प्रदेश सरकारको उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय अन्तरगत रहेको खानेपानी तथा सरसफाइ डिभिजिन कार्यालय गोरखाले सो क्षेत्रमा खानेपानीका बिभिन्न आयोजनाहरु निर्माण गरिरहेको छ । गण्डकी प्रदेश सरकारको एक घर एक धारा अभियान अन्तरगत उत्तरी क्षेत्रको घरघरमा धारा जडानको कार्य थालिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाका प्रमुख तुल्सी बस्नेतले बताए ।
केही आयोजनाहरु सम्पन्न भइसकेका छन् भने केही निर्माणाधिन अवस्थामा रहेको उनले जानकारी दिए । चुमनुव्री गाउँपालिका–१ सामागाउँमा २ करोड २ लाख खर्चेर खानेपानी आयोजना निर्माणको काम भइरहेको छ । लक्षित घरधुरी संख्या १ शय ६० रहेको छन् । १ शय ४० घरमा धारा जडान भइसकेको कार्यालयले जनाएको छ । ‘बाँकी घरधुरीमा पनि धारा जडानको काम भइरहेको छ, पाइप बिछ्याएर पानी वितरणको अन्तिम तयारी गरिरहेका छौ,’ कार्यालय प्रमुख बस्नेतले भने । उनका अनुसार वडा नम्वर २ मा नयाँबजार स्याला जुगाधुम खानेपानी आयोजना निर्माणको काम भइरहेको छ ।
दुइ करोड ३० लाखको लागतमा निर्माण भइरहेको उक्त आयोजनाबाट २ शय १५ घरधुरी लाभान्वित हुनेछन् । वडा नम्वर ३ मा १ करोड ४९ लाख १८ हजार लागतमा चिसापानी एक्लेभट्टी खानेपानी आयोजना निर्माण काम भइरहेको छ । कुल १ शय ८० घुरधुरीलाइ लक्षित उक्त आयोजना अन्तरगत हालसम्म ८४ घरधुरीमा धारा जडान भएर पानी वितरण भइसक्यो । वडा नम्वर ४ लाइ लक्षित गरी प्रोक छाक गव खानेपानी आयोजना निर्माणको काम पनि भइरहेको कार्यालयले जनाएको छ ।
आयोजनाको लक्षित घरधुरी १ शय १६ छन् । २ करोड ८ लाख ७१ हजार लागत रहेको छ । आयोजना अन्तरगत प्रोकको १ शय १० घरधुरीमा धारा जडान भइसक्यो । आयोजना अन्तरगत छाक र गवमा पनि काम भइरहेको छ । वडा नम्वर ५ बिहीमा पनि २ शय ५३ घरधुरीलाइ लक्षित गरी बिही खानेपानी आयोजना निर्माण भइरहेको छ । घरघरमा धारा जडान भइसक्यो ।
पानी वितरणको अन्तिम तयारी भइरहेको बताइएको छ । आयोजनाको कुल लागत २ करोड ९८ लाख ६१ हजार रहेको छ । वडा नम्वर ६ चुम्चेतमा निर्माण भइरहेको चुम्चेत दोस्रो खानेपानी आयोजनाले २ शय २० घरधुरी लाभान्वित गर्ने लक्ष्य राखेको छ । कुल १ करोड ८० लाख ७२ हजार लागतमा आयोजना निर्माणको काम भइरहेको कार्यालयले जनाएको छ । १७० घरधुरीमा धारा जडान भएर पानी वितरण भइसक्यो । बाँकी घरधुरीमा धारा जडानको काम भइरहेको छ ।
यी सबै आयोजनाहरु उपभोक्ता समिति मार्फत निर्माण भइरहेका छन् । चालु आर्थिक बर्ष २०७८÷७९ मा सबै आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कार्यालयका अनुसार चुमनुव्री गाउँपालिकाको वडा नम्वर २, ३, ४, ५ र ६ लाइ लक्षित गरी बृहत खानेपानी आयोजना निर्माणको काम पनि भइरहेको छ । आयोजनाको कुल लागत ६ करोड ८९ लाख रहेको कार्यालय प्रमुख बस्नेतले बताए । आयोजनाबाट ६ शय १० घरधुरी लाभान्वित हुनेछन् ।
चालु आर्थिक बर्ष २०७९÷८० मा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भौगोलिक बिकटताका कारण उत्तरी गोरखामा आयोजना निर्माणको काम अन्य क्षेत्रमा जस्तो सहज नभएको कार्यालय प्रमुख बस्नेत बताउछन् ।
‘हिमपात हुने ठाउँ भएकाले बाह्रे महिना काम गर्न सकिदैन, फेरी सडक नपुगेकाले आवश्यक निर्माण सामग्री कि हेलिकप्टर की खच्चडबाट ढुवानी गर्नुपर्छ,’ उनले भने । केही बर्षमा सबै घरमा धारा पु¥याउने लक्ष्य रहेको उनले बताए । घरघरमा धारा जडान भएर पानी आउन थालेपछि उत्तरी गोरखाका स्थानीय पनि खुशी छन् ।