प्रविधिमैत्री कक्षा संचालनका लागी शिक्षकलाई तालिम दिइने
प्रविधिमैत्री कक्षा संचालनका लागी शिक्षकलाई तालिम दिइने
साउन २७, गोरखा । प्रविधिमैत्री कक्षा संचालनका लागी पालुङटार नगरपालिकाले शिक्षकहरुलाइ तालिम दिने भएको छ । नगर क्षेत्रभित्रको माध्यमिक बिद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाइ एक हप्ते तालिम उपलब्ध गराउन लागिएको नगरपालिका शिक्षा शाखाले जनाएको छ ।
‘कोरोनाका कारण भौतिक उपस्थित भएर कक्षा संचालन गर्न सक्ने अवस्था छैन,’ शिक्षा शाखा प्रमुख बाबुराम काराखेती भने, ‘अनलाइनबाट कक्षा संचालन गर्नपर्ने भयो, त्यसैले शिक्षकहरुलाइ तालिम दिन लागेका हौ ।’ भदौ १ गतेबाट कक्षा ६ देखि १२ सम्मका बिद्यार्थीलाइ अनलाइनबाट पठनपाठन शुरु गरिने उनले बताए । ‘सबै शिक्षकहरु प्रविधिमैत्री शिक्षण सिकाइका लागी दक्ष हुनुहुन्न, तालिममा जानेका शिक्षकहरुले नजानेकाहरुलाई सिकाउनुहुन्छ,’ उनले भने ।
प्रधानाध्यापकको संयोजकत्वमा आ–आफ्नो शिक्षकलाई सात दिने प्रविधिमैत्री आधारभूत तालिम संचालन गरेर १५ दिनभित्र प्रतिवेदन पेश गर्न सबै माध्यमिक तहका बिद्यालयलाई निर्देशन समेत दिइसकेको काराखेतीले बताए । शिक्षा शाखाको यही साउन २० गते बसेको बैठकले उक्त निर्णय गरेको हो । नयाँ शैक्षिक सत्र २०७८ शुरु भएदेखि पानपाका बिद्यालयहरु मा पठनपाठन शुरु भएको छैन ।
शिक्षकहरु भने यही साउन १९ गतेबाट बिद्यालयमा हाजिर भइसकेका छन् । प्रशासनले दिएको अवस्थामा भौतिक रुपमा उपस्थित गराएर प्राथमिक बिद्यालयको पठनपाठन संचालन गर्न सकिने नगर शिक्षा अधिकारी काराखेतीले बताए । ‘प्रावि तहमा बिद्यार्थी संख्या कम छ, प्रशासनले दिएको अवस्थामा सामाजिक दुरी कायम गराएर बिद्यालयमै पठनपाठन संचालन गर्न सकिन्छ,’ उनले भने । जिल्लाका केही स्थानीय तहले भने भौतिक रुपमा उपस्थित गराएर कक्षा संचालन गर्ने तयारी गरिरहेका छन् ।