चार महिनापछि खुल्यो मनकामना मन्दिर
चार महिनापछि खुल्यो मनकामना मन्दिर
भदौ २४, गोरखा । चार महिनापछि मनकामना मन्दिर भक्तजनका लागी खुलेको छ । कोभिड–१९ का कारण गत बैशाख २३ गतेदेखि बन्द रहेको मन्दिर वुधबारबाट पुजाआजाका लागी खुल्ला गरिएको हो ।
स्वास्थ्य सुरक्षाको निश्चित मापदण्ड बनाएर मन्दिर खुल्ला गरिएको पुजारी इन्सान थापा मगरले बताए । भक्तजनहरुले ल्याएको पुजा सामग्री मन्दिरको झ्यालबाट पुजारीलाइ दिने व्यवस्था मिलाइएको छ । भाकल बुझाउन आउनेका लागी बलि दिने ठाउँमा छुट्टै पुजारीको व्यवस्था गरिएको मगरले जानकारी दिए । भक्तजन हरुलाइ मन्दिर प्रवेशमा भने रोक लगाइएको छ । ढोकाबाट उनीहरुले दर्शन गर्न पाउनेछन् । मन्दिर संचालनका लागी समिति गठन गरेर निश्चित मापदण्ड सहितको प्रतिवेदन प्रशासन कार्यालयमा बुझाउन भनिएको थियो ।
सोही अनुसार प्रशासन कार्यालयको अगुवाइमा बसेको सरोकारवालाको बैठकले भदौ २३ (बुधवार) बाट मन्दिर संचालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई कार्यान्वयन गर्दै मन्दिर खुला गरिएको मनकामना क्षेत्र बिकास समितिले जनाएको छ । मनकामनासँगै जिल्लाका अन्य धार्मिक स्थलहरु पनि बुधवारबाट भक्तजनका लागी खुला गरिएको छ । मन्दिर खुलेसँगै मनकामना केवलकार पनि संचालनमा आएको छ । वुधवारबाटै केवलकार संचालनमा आएको बताइएको छ ।