चाडपर्व लक्षित सहुलियत पसल संचालन
चाडपर्व लक्षित सहुलियत पसल संचालन
असोज ५, गोरखा । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी जिल्लामा सहुलियत मूल्य पसल संचालन भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखा शाखाले यही असोज १ गतेबाट संचालन गरेको पसलले खाद्यान्नमा बिशेष छुट दिदै आएको छ ।
सोना मंसुली चामलमा प्रति केजी ५ रुपैया छुट दिइएको कार्यालय प्रमुख नविन बस्नेतले बताए । ‘सोना मंसुली चामलको मूल्य प्रति केजी ५१ रुपैया ३० पैसा छ,’ उनले भने, ‘हामीले छुट दिएर प्रति केजी ४६ रुपैया ३० पैसामा बिक्री गर्दै आएका छौ ।’ छुटसँगै ३० केजी बोराको मूल्य १३ सय ८९ पर्ने उनले बताए । त्यस्तै मकवानपुर चामलमा पनि प्रति केजी ५ रुपैया छुट दिइएको छ ।
बजार मूल्य प्रति केजी ४७ भएपनि कार्यालयले ४२ रुपैयामा बिक्री वितरण गर्दै आएको छ । उक्त चामलको ३० केजी बोराको १२ सय ६० पर्ने बताइएको छ । ‘अहिले दुई थरी चामल मात्र छ, केही दिन पछि अरु पनि थप हुन्छ,’ कार्यालय प्रमुख बस्नेतले भने । कात्तिक २४ गतेसम्म सहुलियत पसल संचालन हुने कार्यालयले जनाएको छ ।