अस्पतालमा जनशक्ति व्यवस्थापन गर्छाै ः मन्त्री गुरुङ
अस्पतालमा जनशक्ति व्यवस्थापन गर्छाै ः मन्त्री गुरुङ
असोज ७, गोरखा । गण्डकी प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले गोरखा अस्पतालमा जनशक्ति व्यवस्थापन गर्ने बताएकी छिन् । वुधवार अस्पतालको नव निर्मित भवन निरिक्षण पश्चात पत्रकारसँग कुराकानी गर्दै उनले दरवन्दी अनुसारको जनशक्ति पूर्ति गरेर अस्पतालको सेवा प्रभावकारी बनाउन मन्त्रालय तत्पर रहेको बताइन् ।
‘पूर्वाधारको हिसावले अस्पताल राम्रो बन्यो,’ उनले भनिन्, ‘अव जनशक्ति र आवश्यक उपकरण व्यवस्थापनका लागी हामी पहल गर्छाै ।’ अस्पताल सुदृढिकरण सँगै जनशक्ति परिपूर्तिका लागी स्वास्थ्यकर्मीलाई बिभिन्न प्रकारका तालिम दिने योजना समेत रहेको उनले जानकारी दिइन् । ‘डाक्टरहरु व्यवस्थित र सुगम ठाउँ खोज्ने प्रवृति छ, गोरखा अस्पतालमा पनि सेवा सुविधा थपेर आकर्षण गर्न सकियो भने दरवन्दी अनुसारको चिकित्सक पदपूर्ति हुन्छ,’ उनले भनिन् ।
अस्पताल प्रमुख, व्यवस्थापन समिति र कर्मचारीहरु एक आपसमा समन्वय गरेर अघि बढ्न उनले आग्रह समेत गरेकी छिन् । ‘अस्पताल बिकास समिति अध्यक्ष राजनितिक नियुक्ती हो तर जे भएपनि अस्पतालको सेवा प्रभावकारी बनाउन र बिरामीलाइ सहज रुपमा उपचार सेवा दिन समितिका अध्यक्ष लगायत सदस्यहरु सधै तत्पर रहुनपर्छ,’ उनले भनिन् ।
भवन निरिक्षणको क्रममा गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले मन्त्री गुरुङलाई दरवन्दी अनुसार बिशेषज्ञ चिकित्सक नहुदा सेवा प्रवाहमा समस्या भएको बताए । ‘चुमनुव्री गाउँपालिका देखिको मान्छे स्वास्थ्य सेवा लिन यहाँ आउछन्, जटिल समस्या नभइ उनीहरु आएका हुदैनन्, त्यसैले बिशेषज्ञ चिकित्सक भएमा सेवा दिन सकिन्थ्यो,’ उनले भने ।