स्विटजरल्याण्डबाट साइकलमा गोरखा आइपुगिन् लरिसा
स्विटजरल्याण्डबाट साइकलमा गोरखा आइपुगिन् लरिसा
असोज १७, गोरखा । स्विटजरल्याण्डकी नागरिक २६ बर्षिया लरिसा जिमरमन साइकल यात्रा गर्दै नेपाल आइपुगेकी छन् । ६ महिना अघि उनले स्वीजरल्याण्डबाट यात्रा शुरु गरेकी थिइन् ।
शनिवार गोरखा सदरमुकाम आइपुगेकी उनले १२ देश पार गर्दै नेपाल आइपुगेको बताइन् । इटाली, स्लोभेनिया, क्रोएसिया, मन्टेनेग्रो, अल्वेनिया, म्यासेडोनिया, बलगेरिया, टर्की, जर्जिया, स्पेगिस्तान, किर्गिस्तान हुदै उनी नेपाल आइपुगेकी हुन् । ‘यात्रामा सँगै रहेको एक जना साथी टर्की आएपछि फर्कियो,’ उनले भनिन्, ‘त्यसपछि म एक्लै यात्रा गरेर नेपालसम्म आइपुगे ।’ नाका बन्द भएका कारण भारत र चाइना जान नपाएकी उनले किरगिस्थानबाट फ्लाइटमा नेपाल आउनुपरेको बताइन् ।
कुल ६ हजार ४५० किलोमिटर साइकल यात्रा गरेको उनले जानकारी दिइन् । गोरखा नगरपालिका–७ नयाँबजारमा रहेको बाल गृह (हाम्रो सहारा फाउण्डेशन नेपाल) मा रहेका अनाथ तथा विपन्न परिवारका बालबालिकालाई उनी आवद्ध संस्थाले आर्थिकसहयोग गर्दै आएको छ । बाल गुहमा हाल ९ जना बालबालिका छन् ।
सोही बालबालिकाको सहयोगार्थ रकम संकलनका लागी पनि साइकल यात्रा गरेको उनी बताउछिन् । ‘एक त बालबालिकाहरुको सहयोगका लागी डोनेसन संकलन गर्न पनि हो, अर्काे म बर्षको एक पटक नेपाल आउने गर्छु, यसपटक साइकल यात्रा गरेर आउन रहर पनि भयो,’ उनले भनिन् । टर्की आइपुग्दा साइकलबाट लडेर उनी घाइते समेत भएकी थिइन् ।
कुकुरका कारण दुर्घटनामा परेको बताउदै उनले भनिन्, ‘कुकुरले लखेटेपछि म लडे, वाया हातमा दश टाका लगाउनुप¥यो ।’ यात्रामा उतारचढावहरु धेरै आएपनि समग्रमा रमाइलो भएको उनको अनुभव छ । यात्राको क्रममा बिभिन्न ठाउँको संस्कृती र रितिरिवाज बुझ्ने मौका समेत पाएको उनको भनाइ छ ।