पालुङटारका ५२ हजार बढी पशु खोपका लागी योग्य
पालुङटारका ५२ हजार बढी पशु खोपका लागी योग्य
माघ २०, गोरखा । पालुङटार नगरपालिकाका ५२ हजार बढी घरपालुवा पशुचौपायलाई खोप लगाइने भएको छ । पशुमा पूर्ण खोप कार्यक्रम अन्तरगत गाईभैसी, भेडा, बाख्रा, बंगुर, कुकुर र बिरालोलाई खोप दिन लागिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले जनाएको छ ।
गाईभैसीलाई खोरेत र भ्यागुते चरचरे, भेडाबख्रालाई पिपिआर, बंगुरलाई स्वाइन फिवर र कुकुर तथा बिरालोलाई रेबिज बिरुद्धको खोप दिइने पूर्ण खोप कार्यक्रमका फोकल पर्सन डा. लालमणी अर्यालले बताए । ‘खोप लगाउन योग्य पशुचौपायको तथ्याङ्क संकलन गरिसक्यौ,’ उनले भने, ‘अव तत्काल खोप खरिद प्रक्रिया अघि बढाएर खोप अभियान संचालन गर्छाै ।’ उनका अनुसार ७ हजार ४०१ गाई, ८ हजार ५६ भैसी, ३३ हजार १५६ बाख्रा र ३७ वटा भेडा खोपका लागी योग्य रहेको पाइएको छ ।
त्यस्तै २ हजार ५०१ बंगुर, १ हजार १६६ कुकुर र ३८ वटा बिरालो पनि खोपका लागी योग्य देखिएको उनले जानकारी दिए । ‘केही दिन अघि प्रत्येक वडामा गणकहरु खटिएर घरपालुवा पशुको तथ्याङ्क संकलन गर्नुभएको थियो, पुशचौपायका सख्या ६० हजार भन्दा बढी पाइयो तर, खोपका लागी योग्य ५२ हजार ३५५ मात्र देखिए,’ अर्यालले भने ।
योग्य रहेका पशुलाई लक्षित गरी खोप अभियान संचालन गरिने उनले बताए । सबैभन्दा बढी वडा नम्बर २ मा ८ हजार ४५६ र सबैभन्दा कम वडा नम्वर ५ मा २ हजार २२६ पशुचौपाय खोपका लागी योग्य देखिएको कार्यालयले जनाएको छ । गाईभैसीको हकमा ६ महिनाभन्दा माथि, भेडाबाख्रामा तीन महिना, बंगुरमा ६ हप्ता र कुकुर तथा बिरालोको हकमा तीन महिनाभन्दा माथिका सबै खोपका लागी योग्य हुने कार्यालयले जनाएको छ ।