सार्वजनिक जग्गाका संरचनाको पनि मुआब्जा दिनुपर्ने माग
सार्वजनिक जग्गाका संरचनाको पनि मुआब्जा दिनुपर्ने माग
माघ २०,गोरखा । बूढीगण्डकी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुले सार्वजनिक जग्गामा बनाइएका घर टहराहरुको पनि मुआब्जा दिनुपर्ने माग गरेका छन् । आयोजनाको डुवान क्षेत्रमा पर्ने गोरखा र धादिङका जनप्रतिनिधिहरुको बुधवारको बैठकले सार्वजनिक जग्गामा घर टहरा बनाएर बसोबास गर्दै आएकाहरुलाई वडाको मुचुल्काका आधारमा मुआब्जा दिनुपर्ने माग राखेको हो ।
यस्तै घरगोठ र बोटविरुवाको मुआब्जा वितरण गर्नुअघि वातावरणीय प्रतिवेदनका आधारमा पुनर्वास सम्बन्धी नीति सार्वजनिक गर्नुपर्ने, जग्गा भाडमा लिई निर्माण गरिएका संरचनाको जसले निर्माण गरेको हो उसैलाई मुआब्जा दिने निर्णय गर्न पनि जनप्रतिनिधिहरुले बूढीगण्डकी आयोजना कार्यालयको ध्यानाकर्षण गराएका छन् ।
२०६९ सालदेखि हालसम्म निर्माण भएका र निर्माणको क्रममा रहेका संरचनाको पनि पनि मुआब्जा दिनुपर्ने जनप्रतिनिधिको माग छ । छुट भएका भौतिक संरचनाको लगत संकलनका लागि पुनः सर्भे गर्न, घरगोठ, बोटविरुवाको मुआब्जा निर्धारण गर्नुअघि प्रस्तावित मूल्य सार्वजनिक गर्न तथा गोरखा र धादिङतर्फको मुआब्जा दररेट समान हुने गरि निर्धारण गर्न पनि आयोजना प्रभावित क्षेत्रका जनप्रतिनिधिले ध्यानाकर्षण गराएका छन् ।