बाँझो जमिनमा बिद्यार्थीको श्रम
बाँझो जमिनमा बिद्यार्थीको श्रम
माघ २०,गोरखा । मंगलवार पालुङटार नगरपालिका–९ स्थित शेराफाट पुग्दा बिद्यार्थीहरु खेतीमा व्यस्त देखिन्थे । कोही ट्याक्टरले खेत जोत्दै थिए, कोही तरकारी लगाउदै । शिक्षकले पनि उनीहरुलाई साथ दिइरहेका थिए । त्रिवेणी माध्यमिक बिद्यालयका बिद्यार्थीहरु यतिवेला बाँझो जमिनमा खेती गर्न अग्रसर छन् ।
बिशेष गरी कक्षा ९ मा अध्ययनरत बिद्यार्थीहरुले दश रोपनी क्षेत्रफलमा आलु लगाएका छन् भने आठ रोपनीमा तरकारी । भाडामा जग्गा लिएर खेती शुरु गरिएको बिद्यालयका प्रधानाध्यापक गणेशराज सेडाइले बताए । ‘स्कुल नजिकै रहेको फाँटमा यसै बिद्यालयका पूर्व प्रधानाध्यापकको प्राय बाँझो बस्ने दश रोपनी जग्गा थियो,’ उनले भने, ‘त्यही जग्गा पाँच बर्षका लागी लिजमा लिएर बिद्यार्थीलाई आलु खेती गर्न लगायौ ।’ त्यस्तै बिद्यालय हाता नजिकै रहेको आठ रोपनी बाँझो जमिनमा तरकारी खेती गर्न लगाइएको उनले बताए ।
उनका अनुसार उक्त जग्गा पनि पाँच बर्षका लागी बन्धकमा लिइएको छ । सो जग्गामा करेला, घिरौला, काक्रो लगायतका तरकारी लगाइएको बताउदै उनले थपे, ‘यहाँ लगाउने बिरुवा पनि बिद्यार्थी आफैले उत्पादन गरेका हुन् ।’ चालु शैक्षिक सत्रबाट बिद्यालयले कक्षा ९ मा कृषि धार तर्फको पाठ्यक्रम लागू गरेको छ । प्रयोगात्मक परिक्षाका लागी पनि जमिन आवश्यक पर्ने भएकाले कुल १८ रोपनी जग्गा बन्धकमा लिएर बिद्यार्थीलाई खेति गर्न सिकाइएको बिद्यालयका प्रअ सेडाइले बताए ।
‘अहिले ९ कक्षामा कृषि धारको पढाइ शुरु गरेका छौ, अर्काे बर्ष दश कक्षामा पनि शुरु गर्छाै,’ उनले भने । कक्षा १२ सम्मका लागी अनुमति पाइसकेको उनले जानकारी दिए । कक्षा ९ मा हाल २८ जना बिद्यार्थी छन् । एक बजेसम्म उनीहरु कक्षाकोठामा पढ्छन् र बाँकी समय खेतीमा व्यस्त हुन्छन् । बाँझो जमिनमा खेती गर्न बिद्यार्थीहरु पनि उत्साहित छन् । ‘हामी किसानकै छोरा हो, घरमा पनि खेती गर्दै आएका छौ,’ बिद्यार्थी बिपल सेडाइले भने, ‘घरमा विधि नपु¥याई आफ्नै ढंगले लगाउथ्यौ तर यहाँ पढेपछि खेति गर्ने विधिबारे पनि जानकार भएका छौ ।’
बिद्यालयमा सिकेको सिपले घरमा खेती गर्न पनि सहज भएको अर्का बिद्यार्थी मोहित कुवँरले बताए । कृषि बिषय पढाउनका लागी बिद्यालयले दुई जना कृषि प्रशिक्षकलाई करारमा नियुक्ती गरेको छ । उनीहरुले बिद्यार्थीलाई खेती सम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक सिप सिकाउछन् । जैविक र प्राङगारिक मलको प्रयोग गरेर जैविक बिधिबाट खेती गर्न सिकाइएको प्रशिक्षक प्रमिला अधिकारीले बताइन् ।
पढ्दै र सिक्दै अभियानलाइ आत्मसाथ गर्दै कृषि बिषयको अध्ययापन शुरु गरिएको बिद्यालयले जनाएको छ । खेतीबाट उत्पादित तरकारीलाई स्थानीय बजारमा बिक्री गर्ने र आम्दानीको २५ प्रतिशत बिद्यार्थीलाई र बाँकी बिद्यालयमा राखिने प्रअ सेडाइले जानकारी दिए ।