पत्रकार महासंघको भवन शिलन्यास
पत्रकार महासंघको भवन शिलन्यास
चैत ८,गोरखा । नेपाल पत्रकार महासंघ गोरखा शाखाको आफ्नै भवन बन्ने भएको छ । गोरखा नगरपालिका–८ मा बन्ने भवनको सोमवार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रममा बोल्दै उनले पत्रकारहरुको संस्थागत बिकासका लागी गण्डकी प्रदेश सरकार सदैव तयार रहने बताए ।
‘गण्डकी प्रदेशका जिल्लाहरुमध्ये जहाँ पत्रकार महासंघको भवन छैन, त्यहाँ भवन निर्माणका लागी यो बर्ष १० लाखका दरले रकम विनियोजन गरेका छौ,’ उनले भने, ‘पहिलो चरणमा सिड मनीको रुपमा यो रकम छुट्याएका हौ, पछि थप गर्दै लान्छौ ।’ तीन आना जग्गामा तीन तले भवन निर्माण हुने महासंघका जिल्ला अध्यक्ष नरहरी सापकोटाले बताए । उनका अनुसार पहिलो तलामा सभाहल रहने छ भने माथिल्लो तलामा कार्यालय र तेस्रो तलामा पाहुना कक्ष रहने छ ।
भवन निर्माणका लागी गोरखा नगरपालिका–८ रानीवन निवासी शम्भु खत्रीले दुई आना जग्गा निशुल्क उपलब्ध गराएका हुन् । बाँकी एक आना महासंघले खरिद गरेको हो । भवन निर्माणका लागी करिव ८० लाख लाग्ने अनुमान गरिएको छ । चालु आर्थिक बर्ष गोरखा नगरपालिकाले पाँच लाख र सिरानचोक गाउँपालिका दुई लाख रकम महासंघको भवन निर्माणका लागी विनियोजन गरेका छन् ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री नेपाली, नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष रमेश बिष्ट, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्मा, नेपाल पत्रकार महासंघ गोरखाका संस्थापक एवं सामुदायिक रेडियो प्रशारक संघका एकोरावका महासचिव किशोरजंग थापाा, नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष नरेन्द्र ढकाल लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेश सांसद प्रकाशचन्द्र दवाडी, मनकुमारी गुरुङ, जिल्लाका पालिका प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी कमलाराज भण्डारी, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख, जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख एवं प्रतिनिधी, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिती थियो ।