छेकम्पारमा शसस्त्रको बिओपी स्थापनाका लागी जग्गा एकीन
छेकम्पारमा शसस्त्रको बिओपी स्थापनाका लागी जग्गा एकीन
चैत ८,गोरखा । चीनसँग सिमा जोडिएको उत्तरी गोरखाको छेकम्पारमा शसस्त्र प्रहरी बलको सिमा सुरक्षा पोष्ट (बिओपी) स्थापनाका लागी जग्गा एकीन गरिएको छ । चुमनुव्री गाउँपालिका–७ छेकम्पार स्थित पाङदुङ डाँडामा रहेको जग्गामा पोष्ट स्थापनाका लागी सिफारिस गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले बताए । सोमवार बसेको विपद व्यवस्थापन समिति बैठकले उक्त निर्णय गरेको हो ।
‘पाङदुङडाडामा करिव २५ सय रोपनी जग्गा रहेछ,’ उनले भने, ‘त्यहीमध्ये पाङदुङदेखि निलेछुले जाने बाटोको दाहिने तर्फ २० रोपनी जग्गामा पोष्ट स्थापना गर्न सिफारिस गर्ने निर्णय गरेका हौ ।’ सो जग्गामा पोष्ट स्थापनाका लागी भन्दै चुमनुव्री गाउँपालिकाको विपद व्यवस्थापन समितिको गत माघ २४ गते बैठकले निर्णय गरी सिफारिसका लागी जिल्ला स्थित विपद व्यवस्थापन समितिलाई पत्राचार गरेको थियो ।
सार्वजनिक प्रकृतिको जग्गा प्रयोग गर्न उपलब्ध गराउने सम्बन्धी मापदण्ड २०७७ अनुसार सिफारिसका लागी केन्द्र पठाउने प्रजिअ आचार्यले बताए । ‘हामीले सिफारिस गरेर शसस्त्रको हेडक्वाटरमा पठाउछौ, उसले गृहमन्त्रालयमा पठाउछ, गृहले क्याविनेटमा लान्छ, अनि प्र्रस्ताव पास भएपछि स्थापना हुन्छ,’ उनले भने । उनका अनुसार आज शसस्त्रको टोली जग्गा निरिक्षणका लागी उत्तरी क्षेत्र जादैछन् ।
जिल्लामा दुई वटा बिओपी स्थापना हुने प्रजिअ आचार्यले जानकारी दिए । अर्काे पोष्ट स्थापनाका लागी जग्गा एकीन भइनसकेको उनको भनाइ छ । सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणसँगै सिमाको सुरक्षाका लागी सुरक्षा पोष्ट स्थापना गर्न लागिएको हो । सोमवार बसेको समितिको बैठकले बारपाक सुलिकोट गाउँपालिकाको नाममा रहेको जग्गा बारपाक बहुप्राविधिक शिक्षालयलाई निशुल्क उपलब्ध गराउने निर्णय समेत गरेको छ ।