राष्ट्रिय मान्यता नपाएका १८ दलले बुझाए बिवरण
राष्ट्रिय मान्यता नपाएका १८ दलले बुझाए बिवरण
चैत ९,गोरखा । बिभिन्न २३ राजनीतिक दलले जिल्लास्तरको संगठन र जिल्ला समितिको विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छन् ।
निर्वाचन आयोगले राष्ट्रिय मान्यता प्राप्त बाहेकका दललाई जिल्लागत संगठन संरचना र जिल्ला समितिको विवरण बुझाउन चैत्र ६ गतेसम्मको समय दिएको थियो । सोही अनुसार २३ दलले विवरण बुझाएको कार्यालयले जनाएको छ ।
‘हामीले राष्ट्रिय मान्यता प्राप्त वाहेकका दलहरुसँग विवरण माग गरेका थियौ,’ कार्यालयका रविलाल सुवेदीले भने, ‘तर सबै दलले विवरण बुझाउनुभयो ।’ विवरण बुझाउने २३ दलमध्ये राष्ट्रिय मान्यता नपाएका दलको संख्या १८ रहेको उनले बताए । राष्ट्रिय मान्यता प्राप्त नभएका मंगोल नेशनल अर्गनाइजेसन, सामाजिक एकता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय नागरिक पार्टी, विवेकशिल साझा पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल मजदुर किसान पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी र नेपाली कांग्रेस बिपीले विवरण बुझाएका छन् ।
त्यस्तै नेपाल सुशासन पार्टी, राष्ट्रिय जनमुक्ती पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी(लेनिनवादी), नेपाल परिवार दल, नेपाः राष्ट्रिय पार्टी, नेपाल कम्युनिष्ट पार्टी (समाजवादी), उन्नत लोकतन्त्र पार्टी र आमुल परिवर्तन मसिह पार्टी नेपालले पनि विवरण बुझाएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार उक्त पार्टीहरुले पनि राष्ट्रिय मान्यता पाएका छैनन् । उनीहरुसँगै राष्ट्रिय मान्यता प्राप्त गरेका दलहरु नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीले पनि विवरण बुझाएको कार्यालयका सुवेदीले जानकारी दिए । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कार्यालयले दलहरुसँग विवरण माग गरेको हो ।
उक्त चुनावमा जिल्लामा २ सय १५ वटा मतदान स्थल रहने छन् । मतदान केन्द्रको भने एकीन भइनसकेको कार्यालयले जनाएको छ । ‘निर्वाचन आयोगले यही चैत्र १३ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गर्छ, मतदाताको संख्याको आधारमा मतदान केन्द्र निर्धारण हुन्छ,’ उनले भने । यसपटक मतदाताको संख्या बढ्न सक्ने भएकाले मतदान केन्द्रपनि थप हुन सक्ने उनको भनाइ छ । २०७४ सालको निर्वाचनमा जिल्लामा २ सय १३ मतदान स्थल र २ सय ८३ मतदान केन्द्र रहेको थियो ।