करिव ५२ लाख खर्चेर शहिद लखनमा भ्यू टावर निर्माण
करिव ५२ लाख खर्चेर शहिद लखनमा भ्यू टावर निर्माण
चैत १०,गोरखा । शहिद लखन गाउँपालिका को बक्रेश्वरी थान डाँडामा सिद्ध लखन भ्यू टावर निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक गाउँपालिका एक पर्यटन गन्तव्य’ कार्यक्रम अन्तरगत भ्यू टावर निर्माण गरिएको हो । टावर निर्माणको कुल लागत ५१ लाख ५४ हजार रहेको गाउँपालिकाले जनाएको छ ।
‘दुइ आर्थिक बर्ष गरेर गण्डकी प्रदेश सरकारले ४३ लाख ५४ हजार रकम विनियोजन गरेको हो,’ गाउँपालिका अध्यक्ष रमेश थापा मगरले भने, ‘आठ लाख बराबरको स्थानीयले श्रमदान गरेका हुन् ।’ टावर निर्माण लागी गत आर्थिक बर्ष गण्डकी प्रदेश सरकारले ४० लाख रकम विनियोजन गरेको थियो भने बाँकी रकम चालु आर्थिक बर्ष विनियोजन गरेको हो ।
‘गत आर्थिक बर्ष भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहूँ मार्फत रकम कार्यान्वयन भएको थियो, यो बर्ष डिभिजन वन कार्यालयबाट भयो,’ उनले भने । उपभोक्ता समिती मार्फत निर्माण भएको उक्त टावर चार तलाको रहेको छ । टावर निर्माणका लागी गाउँपालिकाले प्राविधिक सहयोग गरेको हो । २०७७ साल जेठ १२ गते सम्झौता गरेर टावर निर्माणको काम अघि बढेको थियो ।
पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उदेश्यले निर्माण गरिएको टावरबाट उत्तर तर्फका हिमश्रृंखलासँगै जिल्लाका धेरै भूभागहरु देखिने गाउँपालिकाले जनाएको छ । उक्त टावरको गण्डकी प्रदेश सांसद लेख बहादुर थापाबाट उद्घाटन गरिएको छ ।