थप १८ दलले पार्टीको चुनाव चिन्ह पाउने
थप १८ दलले पार्टीको चुनाव चिन्ह पाउने
चैत १७,गोरखा । आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त नगरेका १८ वटा राजनितिक दलले आफ्नै पार्टीको चुनाव चिन्ह बाट चुनाव लड्न पाउने भएका छन् । केहि दिन अघि निर्वाचन आयोगले राष्ट्रिय मान्यता नपाएका दललाई पनि आफ्नै चुनाव चिन्हमा चुनाव लड्न दिने निर्णय गरेको थियो । राष्ट्रिय मान्यता नपाएका दललाई जिल्ला निर्वाचन कार्यालय विवरण वुझाउन भनेको थियो ।
सो क्रममा गोरखामा १८ दल सुचिकृत भएका हुन । राष्ट्रिय मान्यता प्राप्त ६ मध्ये जिल्लामा ५ दल सक्रिय छन् । पछिल्लो समय सुचिकृत भएका र राष्ट्रिय मान्यता प्राप्त गरी २३ दलले आफ्नो दलको चुनाव चिन्ह पाउने निर्वाचन कार्यालय गोरखाका प्रमुख टेक वहादुर कोइरालले बताए । यी दल वाहेक स्थानीय तहमा उठ्ने अन्यले भने स्वतन्त्र उमेदवारको चिन्ह प्राप्त गर्नेछन् ।
वुधबार नेपाल पत्रकार महासंघ गोरखा शाखा र सोच नेपालको आयोजनामा भएको आगमी निर्वाचनमा नागरिक समाज र सञ्चार माध्यमको भूमिका विषय अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले मतदाता शिक्षाका कार्यक्रमलाई तिव्रता दिन निर्वाचन कार्यालय लाई सुझाव दिए । निर्वाचन कार्यालयका प्रमुख कोइरालले आसन्न स्थानीय तह निर्वाचनको तयारीको वारेमा जानकारी गराएका थिए ।
हाल सम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिएको, पर्यवक्षेण गर्ने संघ संस्थाको निवेदन संकलन भइरहेको लगायतका निर्वाचन तयारी वारे जानकारी गराइएको थियो । जिल्लामा दुइ सय १५ मतदान स्थल र तिन सय ११ मतदान केन्द्र पनि तोकिसकेको छ । निर्वाचन स्थलको सुरक्षा संवेदनशिलताको वारेमा पनि जिल्ला सुरक्षा समितिले अध्ययन गरेको छ ।
पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन कार्यालयका प्रमुख कोइराला, पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव शुसिल वावु श्रेष्ठ, सोच नेपालका कार्यकारी निर्देशक उत्तम निरौला, मानव अधिकार सञ्जालका संयोजक यदु अधिकारी, नागरिक साझा सवालका संयोजक स्थानेश्वर दवाडी लगायतले आफ्ना धारणा राखेका थिए ।