गोरखा दरबारमा भक्तजनको भिड
गोरखा दरबारमा भक्तजनको भिड
चैत २७,गोरखा । चैत शुल्क अष्टमीको अवसरमा गोरखा दरवारमा भक्तजनको भिड लागेको छ । शनिबार १० हजार वढी भक्तजन गोरखा कालिका मन्दिर दर्शनका लागि पुगेका छन् । गोरखा कालिका मन्दिरमा चैते दशैको अवसरमा विशेष पुजा हुने गर्छ । असुर शक्ति माथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा हिन्दुहरुले वर्षको दुइ पटक दशै मनाउने गरेका छन् ।
पुराना कथन अनुसार, पहिले मुख्य दसैँ चैतमा पर्ने गर्दथ्यो । तर यो समयमा सुख्खा भएर खडेरी पर्ने, मौसम बदली हुनुका साथै दसैँको भोजन र हिँडडुलले धेरैजना बिरामी परेपछि दसैँलाई वर्षको मध्यमा सारिएको मान्यता छ । चैते दसैं असोजमा पर्ने वडादसैं जस्तो धुमधामका साथ मनाउने गरिएको छैन ।
चैतमा अष्टमीको दिनलाई दसैं भनेर हिन्दुधर्मालम्बीहरुले रमाइलो गर्छन् । दसैंमा घर–घरमा तथा देवीका मन्दिरमा देवीभागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ । वर्षको दुईपटक चैत र असोजमा गरिने दुर्गापूजाको महत्वबारे शास्त्रमा वर्णित छ ।