चुनावका लागी मनोनयन दर्ता शुरु
चुनावका लागी मनोनयन दर्ता शुरु
बैशाख १२,गोरखा । स्थानीय तह निर्वाचनका लागी आइतवारबाट मनोनयन दर्ता शुरु भएको छ । राजनीतिक दलका उम्मेदवारहरुले सम्बन्धित पालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन थालेका छन् । आइतवार गोरखा नगरपालिकाको मेयरमा दुई जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामचन्द्र केसीले बताए ।
मेयरका लागी विप्लव समूहका योगेन्द्र कुमालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको उनले जानकारी दिए । त्यस्तै मंगोल नेशनल अर्गनाइजेसनको तर्फबाट कृष्ण बहादुर तामाङले पनि मेयरका लागी उम्मेदवारी दर्ता गराएका छन् । उपमेयरका लागी सोही पार्टीका मन्सु गुरुङको उम्मेदवारी परेको छ । आइतवार बिभिन्न पदका लागी दश जनाको उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत केसीले जानकारी दिए । पालुङटार नगरपालिकाको मेयर र उपमेयरमा कसैको पनि उम्मेदवारी नपरेको निर्वाचन अधिकृत गोकर्ण राज पन्तले बताए ।
वडाध्यक्षका लागी भने परिवार दल र राप्रपाका एक÷एक जनाको उम्मेदवारी परेको उनले जानकारी दिए । सिरानचोक गाउँपालिकाको अध्यक्षमा राप्रपाका जय प्रकाश बगालेले उम्मेदवारी दर्ता गराएका छन् । वडाध्यक्ष र सदस्यका लागी कुल १९ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले बताए । अजिरकोट गाउँपालिकाको अध्यक्षमा मंगोल नेशनल अर्गनाइजेसनबाट एक जनाको उम्मेदवारी परेको छ । वडाध्यक्ष र सदस्यमा पाँच जनाको उम्मेदवारी परेको बताइएको छ ।
धार्चे गाउँपालिकाको अध्यक्षमा मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवारले अध्यक्ष र उपाध्यक्षका लागी मनोनयन दर्ता गराएका छन् । वडाध्यक्ष र सदस्यका लागी पाँच जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत निराज कुमार खत्रीले बताए । चुमनुव्री गाउँपालिकामा अध्यक्ष पद सहित ६ जनाको उम्मेदवारी दर्ता भएको छ । तर निर्वाचन अधिकृत नानी बाबु पोखरेलले पार्टी र नाम खुलाउन चाहेनन् ।
गण्डकी गाउँपालिकाको अध्यक्षमा राप्रपाका अम्बिका रुपाखेती र मंगोल नेशनल अर्गनाइजेसनका गंग बहादुर रानाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा राप्रपाका बाबुराम रेग्मीको उम्मेदवारी परेको छ । वडाध्यक्ष र सदस्यमा तीन जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत बासुदेव रेग्मीले बताए ।
बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्षमा मंगोल नेशनल अर्गनाइजेसनको तर्फबाट अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी परेको छ । बिभिन्न पदका लागी कुल १५ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत शेषकान्त पौडेलले बताए । शहिद लखन थापा गाउँपालिकामा वडाध्यक्षका लागी एक जनाको स्वतन्त्र उम्मेदवारी परेको छ ।
भीमसेन थापा गाउँपालिकाको अध्यक्षमा रामजी पाण्डेले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् भने आरुघाट गाउँपालिकाको अध्यक्षमा राप्रपाका ढंग बहादुर रोकाले उम्मेदवारी दिएका छन् । जिल्लाका मुख्य दलहरुले भने सोमवार मनोनयन दर्ता गराउने भएका छन् । उम्मेदवार छनोटमा ढिलाइ भएका कारण आइतवार उनीहरुले मनोनयन दर्ता गर्न नसकेका हुन् ।