१ सय ७ जनाले उमेदवारी फिर्ता लिए
१ सय ७ जनाले उमेदवारी फिर्ता लिए
प्रमुखका १० र उपप्रमुखका ७ जना सहित उमेदवारी फिर्ता लिनेमा वडा अध्यक्ष र वडा सदस्य सम्म छन्
बैशाख १८,गोरखा । आगामी स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका एक सय ७ जनाले उमेदवारी फिर्ता लिएका छन् ।
प्रमुख पदमा उमेदवारी दिएका १० जना र उपप्रमुख पदमा उमेदवारी दिएका सात जनाले शुक्रबार उमेदवारी फिर्ता लिए । स्वतन्त्र र राजनितिक दलबाट पालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यमा उमेदवारी दिएका एक सय ७ जनाले फिर्ता लिएका हुन् ।
निर्वाचन अधिकृतको कार्यलयका अनुसार गोरखा नगरपालिकाको अध्यक्ष पदमा उमेदवारी दिएकी जसपाकी उमेदवार सञ्जु नेपाली, उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी धना गुरुङले उमेदवारी फिर्ता लिएका छन् । पालुङटार नगरपालिकाको प्रमुखमा स्वतन्त्र उमेदवारी दिएका शान्ता न्यौपाने र आशिष देवकोटा, उपप्रमुखमा जसपाबाट उमेदवारी दिएकी नारायणी अधिकारी र राष्ट्रिय प्रजातन्त्र पार्टीकी कल्पना लम्सालले पनि उमेदवारी फिर्ता लिएकी छिन् ।
सिरानचोक गाउँपालिकाको उपाध्यक्षमा स्वतन्त्र उमेदवारी दिएका ज्ञान प्रसाद ढकालले पनि उमेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । चुमनुव्री गाउँपालिकाकामा जसपाको तर्फबाट अध्यक्षमा उमेदवारी दिएका गणेश कार्कीले पनि उमेदवारी फिर्ता लिएका छन् । अजिरकोट गाउँपालिकामा अध्यक्ष पदको उमेदवारी दिएका तेजवहादुर शेर्पा र मिरा धितालले उमेदवारी फिर्ता भएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।
शेर्पाले स्वतन्त्र र धितालले जनता समाजवादी पार्टीको तर्फबाट उमेदवारी दिएकी थिइन् । त्यस्तै जसपाबाट अजिरकोटको उपाध्यक्षमा मनोनयन दर्ता गराएका मनवहादुर तामाङले पनि शुक्रबार उमेदवारी फिर्ता लिए । आरुघाट गाउँपालिकामा डाक वहादुर पराजुलीलले उमेदवारी फिर्ता निर्वाचन अधिकृतको कार्यलयको विवरणमा उल्लेख छ । उनि जसपाबाट गाउपालिका अध्यक्षमा उमेदवारी दिएका थिए ।
उपाध्यक्षमा एकिकृत समाजवादी पार्टीको तर्फबाट उमेदवारी दिएका टेकराज भट्टले पनि उमेदवारी फिर्ता लिएका छन् । गण्डकी गाउँपालिकामा जसपाबाट अध्यक्षमा उमेदवारी दिएकी सनमायाँ आले, नेकपा एकिकृत समाजवादी पार्टीबाट अध्यक्षमा उमेदवारी दिएका विशाल कुमार रेग्मी, स्वतन्त्रबाट अध्यक्षमा उमेदवारी दिएका हस्तराज भण्डारी र माओवादी केन्द्रको तर्फबाट उपाध्यक्षमा उमेदवारी दिएकी पार्वती गुरुङले उमेदवारी फिर्ता लिएका छन् ।
८ हजार जनाले लिए उम्मेदवारी फिर्ता
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा देशभर करिव आठ हजार उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिव एक लाख ५३ हजार उम्मेदवारी परेकोमा करिव ८ हजारले फिर्ता लिएको जानकारी दिएका हुन् । ‘उम्मेदवारी फिर्ता लिनेको संख्या करिव ८ हजार छ ।
एक लाख ५३ हजार उम्मेदवारी परेको थियो भने त्यसमा करिव ८ हजार जति उम्मेदवारले फिर्ता लिएका छन् । त्यसमा करिव एक लाख ४५ हजार उम्मेदवार कायम हुने देखिन्छ’ उनले भने । उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने काम पनि भएको बताए । निर्वाचन आयोगको कार्यतालिका अनुसार शनिबार अपरान्ह ५ बजेसम्म निर्वाचनका उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यतालिका थियो । शुक्रबार स्थानीय तह निर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिएको थियो ।