लिफ्टिङ खानेपानी आयोजनाको महसुल तिरिदिने
लिफ्टिङ खानेपानी आयोजनाको महसुल तिरिदिने
ज्येष्ठ १७,गोरखा । गोरखा नगरपालिका–४ को बिभिन्न टोलमा बितरण गर्ने लिफ्टिङ खानेपानी आयोजनाको बिद्युत महशुल वडा कार्यालयको बजेटवाट ब्यबस्थापन गरिने भएको छ । सोमबारको नवनिर्वाचित वडा कार्यसमितिको पहिलो वैठकले सर्वसुलभ मुल्यमा स्थानीयलाई खानेपानी उपलब्ध गराउने उदेश्यका साथ लिफ्टीङ खानेपानी आयोजनाको विद्युत महसुल निकासा गर्ने निर्णय गरेको हो । फिनाम क्षेत्रमा पाँच वटा लिफ्टिङ खानेपानी आयोजना छन् ।
डेरा गाउँ, पन्थेस्वारा(भ्याल्डुम स्वारा), बाँझोगरा कुवापानी, ढुङगगाढे र नालेपानी लिफ्टिङ खानेपानी आयोजनाको बिद्युत महसुल वडा कार्यालयको वजेटबाट ब्यवस्थापन गर्ने नवनिर्वाचित वडा अध्यक्ष लाल प्रसाद भट्टराइले बताए । ‘पहिलो प्राथमिकता नै वडावासीलाई सर्वसुलभ मुल्यमा खानेपानी उपलब्ध गराउने थियो,’ उनले भने,‘चुनाव प्रचारको क्रममा पनि जनता माझ वाचा गरेका थियौँ, प्राथमिकता पनि सस्तो मुल्यमा पानी खुवाउने राखेका छौँ ।’
पाँच वटा लिफ्टिङ खानेपानी आयोजनाको महसुल मासिक ४० देखि ६० हजार रुपैया खर्च हुने अनुमान गरिएको छ । विद्युत महसुल वडा कार्यलयले तिरिदिएपछि स्थानीयले न्यूनतम दुइ सय रुपैया युनिट सम्ममा पानी उपभोग गर्न पाउछन । यस अघि एउटै उपभोक्ताले आठ सय रुपैया सम्म तिर्नुपर्ने अवस्था थियो । ‘हाम्रो लक्ष्य एक सय रुपैयामा पानी खुवाउने हो,’ भट्टराइले भने ।