चोरीको मोटरसाइकल सहित दुई जना पक्राउ
चोरीको मोटरसाइकल सहित दुई जना पक्राउ
असार १५,गोरखा । मोटरसाइकल चोरी गरेको आरोपमा गोरखा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शहिद लखन गाउँपालिका–४ का लोक बहादुर थापा र चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारका कमल गुरुङ रहेका छन् । बा ८३ प ३८९३ नम्वरको मोटरसाइकल चलाएर आएका थापासँग आवश्यक कागजपत्र माग्दा अस्वभाविक व्यवहार प्रदर्शन गरेपछि नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले चढेको बाइक चोरीको भन्ने खुल्न आएको डिएसपी लिलाराज लामिछानेले बताए ।
‘चेकजाँचको क्रममा हामीले थापासँग मोटरसाइकलको ब्लू बुक माग्यौ तर फरक व्यहार देखाएपछि हामीलाई शंका लागेर नियन्त्रणमा लियौ,’उनले भने,‘सोधपुछको क्रममा चुम्लिङटारका गुरुङसँग मोटरसाइकल किनेको भन्ने कुरा आएपछि गुरुङलाई पनि नियन्त्रणमा लिएर आवश्यक सोधपुछ गर्दा चोरीको बाइक भन्ने थाहा भयो ।’
तालुक कार्यालयसँग समन्वय गर्दा उक्त बाइक गत बैशाख ५ गते चितवनको खैरहनी नगरपालिका–१ बाट चोरी भएको खुल्न आएको उनले जानकारी दिए । बाइक चोरी आरोपमा पक्राउ परेका थापा र गुरुङलाई थप अनुसन्धान र कारवाहीको लागी इलाका प्रहरी कार्यालय खैरहनी चितवन पठाइएको बताइएको छ ।