आँपपिपल अस्पताललाई ‘एसी’ सहित ल्यावका सामान सहयोग
आँपपिपल अस्पताललाई ‘एसी’ सहित ल्यावका सामान सहयोग
असार १६,गोरखा । पालुङटार नगरपालिकामा रहेको आँपपिपल अस्पताललाई तीन थान ‘एयर कण्डिसन (एसी)’ र ल्यावका सामानहरु सहयोग गरिएको छ । वडा नम्वर ३ को कार्यालयबाट विनियोजित चार लाख रकमले उक्त सामान खरिद गरिएको हो ।
मंगलवार एक कार्यक्रमका बिच वडाध्यक्ष रविन्द्र अधिकारीले अस्पताललाई उक्त सामग्री हस्तान्तरण गरे । ‘अस्पतालमा भर्ना भएका बिरामीलाई पोषण स्वरुप खाजा खर्च भनेर चालु आर्थिक बर्ष पाँच लाख रकम विनियोजन गरेका थियौ,’ वडाध्यक्ष अधिकारीले भने, ‘तर नेपाल सरकारसँग कार्यक्रम जुधेपछि हामीले एक लाख पोषण खर्च र बाँकी चार लाख अस्पताललाई मेसिनरी सामान खरिद गरिदिने भनेर वडाबाटै निर्णय गरायौ ।’
अस्पतालको आवश्यकता र माग बमोजिम सामान उपलब्ध गराइएको उनले जानकारी दिए । वडाबाट प्राप्त भएको एसी एक्स–रे र ल्याव कक्षमा जडान गरिने अस्पतालका प्रशासकीय अधिकृत बाबुराम गिरीले बताए । ‘एसी जडान गरेपछि ती कोठाहरुमा रहेका मेसिनहरुको तापक्रम मेन्टेन गर्न सघाउ पुग्ने अपेक्षा गरेका छौ,’ उनले भने । उक्त कक्षमा रहेका मेसिनहरुलाई जाडोमा तातो र गर्मीमा चिसो तापक्रम आवश्यक पर्ने उनको भनाइ छ ।
अस्पतालमा यसअघि ९० लाख रकम खर्चेर अक्सिजन प्लान्ट समेत जडान भइसकेको छ । जर्मन रोटरी क्लबहरु, रोटरी इन्टरनेशनल र रोटरी क्लब अफ गोरखाको समन्वयमा अक्सिजन प्लान्ट जडान गरिएको अस्पतालले जनाएको छ । खाली सिलिण्डरमा अक्सिजन समेत भर्न मिल्ने व्यवस्था भएको अस्पतालका गिरीले जानकारी दिए ।