आउजाउमा सजिलोका लागि कल्भट निर्माण
आउजाउमा सजिलोका लागि कल्भट निर्माण
श्रावण २३, गोरखाः विद्यार्थी तथा स्थानीयलाई आउजाउको सजिलोका लागि पालुङटार नगरपालिका–९ शेरा स्थित चुति खोलामा अस्थायी कल्भट निर्माण गरिएको छ । यस अघि यहाँका स्थानीयलाई चुतिखोलामा हेलिएर आउजाउ गर्नुपर्ने वाध्यता थियो ।
उत्त कल्भट निर्माण भएसँगै माथिल्लो शेराबाट त्रिवेणी माध्यमिक बिद्यालय पुग्ने विद्यार्थी तथा स्थानीयलाई आउजाउमा सहज बन्ने छ ।
खोला वारपारमा सजिलोका लागि पाँच वटा हिम पाइप माथि ग्राभेल विछ्याइएको छ । बर्खाको वेला चुति खोला वढेर विद्यार्थी तथा स्थानीयहरु जोखिम मोलेर खोला वारपार गर्दै आएका थिए । असारपहिलो साताको वर्षाद पछि चुति खोला वढेर पालुङटार नगरपालिका–९ पुग्ने पैदल मार्ग र निर्माणाधिन पुल समेत वगाएको थियो । बाढीले सिस्नेरी जोड्ने पुलको नाम निसाना छैन ।
त्यस्तै वडा नम्वर ९ कै धर्मोदय माध्यमिक विद्यालय आउजाउका लागि पनि खारखोलाको पानी पुल मुनीबाट कटाएको वडा अध्यक्ष भेजराज पाण्डेले बताए । ‘पुलको पहुँचमार्ग वगाएर खोला एकातिर सोझिएको थियो, अहिले पानी पुल मुनि कटाएर आउजाउमा सजिलो वनाएका छौँ,’ उनले भने । बर्खे विदा पछि विद्यालय खुल्न थालेसँगै नगरपालिकाको पहलमा बाटो निर्माण भएका हुन् । शेरा पुग्ने विर्दिको मोटरेवल पुलको पहुँचमार्ग पनि वाढीले वगाएपछि सवारी तथा स्थानीय खोलामा हेलिएर आउजाउ गर्दै आएका छन् ।