कृष्ण ज्योतीको भवन उद्घाटन
कृष्ण ज्योतीको भवन उद्घाटन
गोरखा : सिरानचोक गाउँपालिका–६ को गाँखुको महटारमा रहेको कृष्णज्योती माविको नयाँ भवन वनेको छ ।
जाइकाको सहयोगमा नौ कोठे भवन को निर्माण सम्पन्न भएसँगै वुधबार हस्तान्तरण गरिएको छ । दुइ करोड ७० लाख २६ हजार ५ सय ६९ रुपैयाको लागतमा भवन निर्माण सम्पन्न भएको वडा अध्यक्ष प्रेम प्रसाद वस्तीले जानकारी दिए । विद्यालय सँगै शौचालय पनि निर्माण भएको छ । एक वर्षको अवधिमा भवन निर्माण सम्पन्न भएको उनले बताए । यस अघि जग्गा अभावमा भवन निर्माण अन्योल हुदै आएको थियो ।
विद्यालय भवन निर्माणका लागि जग्गा खरिद गर्न कृष्ण प्रणामी युवा परिषदले महायज्ञ पनि लगाएको थियो । ३३ लाखमा करिव तिन रोपनी जग्गा खरिद गरि भवन निर्माण शुरु भएको थियो । भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा सिरानचोक गाउँपालिकाका प्रमुख ज्ञानेन्द्र गुरुङ, उपाध्यक्ष रिता देवकोटा, वडा अध्यक्ष वस्ती,जिल्ला शिक्षा तथा समन्वय इकाईका प्रमुख विष्णु भट्टराइ लगायतले मन्तब्य राखेका थिए ।