भिमसेन थापाको अधिवेशनबाट चार विधेयक पास
भिमसेन थापाको अधिवेशनबाट चार विधेयक पास
गोरखा : भिमसेन थापा गाउपालिकाको ११ औँ हिउदे अधिवेशनले चार वटा वधेयक पास गरेको छ । शुक्रबार भएको अधिवेशनले गाउँ प्रहरी विधेयक, जुवा तास नियन्त्रण विधेयक, मदिरा नियन्त्रण विधेयक तथा स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षण विधेयक सहित पारित गरेको हो ।
गाउँ प्रहरी विधेयक सभाका सदस्य नारायण श्रेष्ठले प्रस्ताव गरेका थिए भने सभाका सदस्य गोपाल बराइलीले समर्थन जनाएका थिए । त्यस्तै सभाका सदस्य ऋषिराम लामिछानेले जुवा तास नियन्त्रण विधेयक र मदिरा नियन्त्रण विधेयक प्रस्तुत गरेका थिए भने सभाका सदस्य सम्झना नेपाली बसेल र टंक कुमारी वि.क. समर्थन गरेका थिए । त्यस्तै स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षण विधेयकको विकास श्रेष्ठले सभामा प्रस्ताव गरेका थिए । सभाका सदस्य कमला खनालले उत्त विधेयकमा समर्थन जनाएकी थिइन । विधेयकहरुमा सभाका सदस्य काजीराम ढकाल लगायतले आफ्नो धारणा राखेका थिए । विधेयकहरु सर्वसम्मत रुपमा पारित भएको गाउपालिकाले जनाएको छ ।
त्यस्तै चालु आर्थिक वर्षको संशोधित आय विवरण, बजेट तथा कार्यक्रमको संशोधन प्रस्ताव उपाध्यक्ष अमृतादेवी वस्ती भट्टले पेश गरेकी थिइन् । पेश भएको विनियोजन ऐन, २०७९ को समर्थन सभाका सदस्य रञ्जन रिमालले गरेका थिए । त्यस्तै वस्तीले राजश्व परामर्श समितिको प्रतिवेदन तथा न्यायिक समितिको अर्धवार्षिक प्रतिवेदन पनि सभा पेश गरेकी थिइन् ।
सभाका सदस्य एवं लेखा समितिका संयोजक राम प्रसाद पाण्डेले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए । उनले गाउँसभा समक्ष आगामी दिनमा पालिकालाई शुन्य वेरुजुको स्थितिमा लैजाने कार्य गर्ने समेत बताए । सभाका सदस्य एवं पूर्वाधार विकास समितिका संयोजक विकास श्रेष्ठले आर्थिक वर्ष २०७८/०७९ को प्रगति प्रतिवेदन तथा चालु आ.ब. २०७९/०८० को अर्धवार्षिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए । गाउँसभा गाउपालिका अध्यक्ष लोक प्रसाद वञ्जराको अध्यक्षतामा भएको थियो ।