लघुवित्त विरुद्ध पिडितको धर्ना
लघुवित्त विरुद्ध पिडितको धर्ना
गोरखा ः लघुवित्तको सामुहिक ऋण मिनाहाको माग गर्दै लघुविक्त पिडितहरुले धर्ना दिएका छन् ।
मंगलबार जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएका पिडितहरुले लघुवित्तको चर्को ब्याजले पिडा थपेको बताए । एक लघुविक्तको ऋण तिर्न अर्को लघुविक्तबाट ऋण झिक्दा ऋण नै तिर्न नसक्ने गरि आर्थिक ब्ययभार वढेको उनिहरुको गुनासो छ । चर्को ब्याजदर सावाँ भन्दा वढी तिर्नुपर्ने अवस्था रहेको उनिहरुले गुनासो गरे । किस्ता रकम तिर्न दवाव दिने लघुवित्तका कर्मचारीहरुको दवावले घरमा वस्न सक्ने स्थिति नरहेको उनिहरुले बताए । उलघुवित्त संस्था विरुद्धको संघर्ष समितिको आयोजनामा भएको धर्नामा सहभागीले लघुवित्त संस्थाहरु खारेजी, सामुहिक ऋण मिनाहा, आम गरिव किसानहरुलाई निशूल्क ऋण प्रदान गर्न माग गरे । आवश्यकता र क्षमतामा आधारित काम र दामको ब्यवस्थाको लागि पनि उनिहरुले सरकार समक्ष माग गरेका छन् । लघुविक्त संस्थाहरुले शुरुको चरणमा जवरजस्ती पैसा दिने र महंगो ब्याज असुल्ने गरेको उनिहरुको गुनासो छ । साँवा भन्दा ब्याज वढी तिर्नुपर्ने अवस्था आएको लघुवित्त वित्तिय संस्था विरुद्धको संघर्ष समितिका अध्यक्ष सुसिला गुरुङले बताइन् । पैसा तिर्ने कुनै उपाय नहुँदा महिलाहरु पिडामा रहेको उनले सुनाइन् । ‘पहिले पनि सडकमै थियौ, अहिले पनि सडकमै आयौँ,’ उनले भनिन् । किस्ता रकम तिर्न एक दिन ढिला हुँदा पनि लघुविक्तका कर्मचारी घरमै पुगेर मानसिक तनाव दिने गरेको उनिहरुको गुनासो छ । पालुङटार नगरपालिका–७ च्याङलीकी कुमारी कुमाल एक दिन किस्ता तिर्न ढिला हुदाँ घरमै आएर कर्मचारी वस्ने र समाजमा पनि वेइज्जती गर्ने गरेको बताउँछीन् । ‘तिर्दैनौ भनेका छैनौ, ऋण लिएपछि तिर्छौ, तर कहिले काहि ब्यवहार विग्रन्छ, आजै चाहियो भन्दा दिन सकिदैन,’ उनले भनिन्,‘यस्तो वेला पनि अनावश्यक टचर दिन्छन् ।’ जिल्लाका आठ वटा पालिकाबाट भेला भएका पिडितहरुले धर्ना दिएका हुन् । उनिहरुले लघुविक्त संस्थाको ज्यादती सहिनसक्नु भएको बताए । समाजमा वेइज्जती गर्दा मानसिक तनाव वढेको धर्नामा सहभागी धनकुमारी गुरुङले बताइन् । असह्य भएर आन्दोलनमा उत्रिएको भन्दै लघुवित्त संस्थाविरुद्ध चरणवद्ध आन्दोलन गर्दै जाने उनिहरुले बताए ।