पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडकको शिलान्यास
पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडकको शिलान्यास
पन्थडिही कटहरे हर्मी साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलवार एक कार्यक्रमका बिच योजनाको शिलान्यास गरेका हुन् । करिव २१ किलोमिटर सडक कालोपत्रेको जिम्मा वूड हिल लामा जेभी कन्स्ट्रक्सनले पाएको छ । ३० महिनामा काम सक्ने गरी २०७९ फागुन ११ गते सम्झौता भएको सडक सुधार आयोजना निर्देशनालयका निर्देशक ज्ञानेन्द्र कुमार झा ले बताए । योजना अन्तरगत सडक विस्तार गरेर डवल लेनको बनाइने छ । नाला सहित सडक कालोपत्रे हुने छ । आयोजनाको कुल लागत करिव ८२ करोड रहेको छ । उक्त सडकबाट गोरखाको पालुङटार नगरपालिकाको खोप्लाङ र आँपपिपल, सिरानचोक गाउँपालिकाको हर्मी, थालाजुङ, छोप्राक र अजिरकोट गाउँपालिकाको हंसपुर र खरिवोटका स्थानीयहरु प्रत्यक्ष लाभान्वित हुने छन् । त्यस्तै लम्जुङको राइनास नगरपालिकाको चक्रतीर्थ, दुधपोखरी गाउँपालिकाको इलमपोखरी र दुधपोखरीका स्थानीय पनि प्रत्यक्ष लाभान्वित हुने आयोजनाले जनाएको छ । गोरखा र लम्जुङका गरी चार लाख भन्दा बढी जनसंख्या प्रत्यक्ष लाभान्वित हुने उक्त सडक भारत सरकारको एक्जिम बैकको ऋण सहयोगमा स्तरोन्नति गर्न लागिएको हो । ११ किलो छेवेटार भालुस्वाँरा बारपाक सडक योजना मातहत नियमन हुने उक्त योजनाले गोरखा र लम्जुङको समाजिक र आर्थिक रुपान्तरणमा सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ । कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, गण्डकी प्रदेशका सासद सुरेन्द्रराज पाण्डे, पालुङटार नगरपालिकाका मेयर विवश चिन्तन लगायतको सहभागीता रहेको थियो ।