प्रतिवद्धता पुरा गर्ने सुरुवातको रुपमा सडक शिलन्यासलाई लिएको छु दाहाल
प्रतिवद्धता पुरा गर्ने सुरुवातको रुपमा सडक शिलन्यासलाई लिएको छु दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनावी दौरानको क्रममा आफुले गरेको प्रतिवद्धता पुरा गर्ने बताएका छन् ।
मंगलबार पन्थडिहि–कटहरे–हर्मी–साहिलटार सडकको शिलान्यास गर्दै प्रचण्डले सडक शिलान्यास सामान्य नभई निर्वाचनको बेला जनताको अगाडि गरेको प्रतिवद्धता पूरा गर्ने कुराको उद्घाटन समेत रहेको बताए । ‘केही राजनीतिक घुम्ती र मोड पार गरेर हिजो मात्र नयाँ राजनीतिक समीकरण अथवा पुरानै समीकरण भनेपनि हुन्छ, चुनाव लड्दाको समीकरणबाट विश्वासको मत प्राप्त गरेको भोलिपल्ट गोरखामा आएर सडक शिलान्यास गर्ने अवसर मिल्यो, म अत्यन्तै खुशी छु,’ उनले भने । चुनावको क्रममा गरेको प्रतिवद्धता पुरा गर्ने सुरुवातको रुपमा सडक शिलन्यासलाई लिएको उनको भनाइ थियो । वेनिघाट–आरुघाट–लार्के सडक तिव्रताका साथ अघि वढाउने, रवर उद्योग संचालनका लागि अध्ययन अनुसन्धानको थालनी र पालुङटार हवाइमैदान संचालनका लागि पनि सरकारले पहल गरिरहेको उनले बताए । त्यस्तै प्रचण्डले विकासलाई गति दिन वृहत्तर समन्वय बैठक राख्ने बताएका छन् । प्रचण्डले विकासलाई गति दिन तीनै तहको सरकारबीच समन्वय बैठक गरिने बताए । ‘संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्न वृहत्तर बैठक छिट्टै आयोजना गर्दैछु,’ उनले भने, ‘विकासलाई गति दिन गम्भीर छलफल हुन्छ । विकासको मोडालिटीबारे पनि छलफल गरिन्छ ।’ उनले सडक बनाएर मात्रै विकास र रोजगारी नहुने भन्दै शिक्षा, स्वास्थ्यलगायत क्षेत्रसँग सडक जोड्न सक्नुपर्ने बताए । जनतालाई सेवा दिएर विश्वास जित्ने संकल्प आफूले लिएको उनको भनाइ थियो । मुलुकमा ४ मंसिरको चुनावअघिकै गठबन्धन कायम भएको भन्दै अब संघ र प्रदेश सरकारलाई पूर्णता दिने बताए । सोमबार प्रतिनिधिसभाबाट ११ दलको विश्वासको मत पाएको भन्दै उनले अब प्रदेश सरकारलाई पनि आलोपालोमा पूर्णता दिने बताएका हुन् । गोरखामा आफ्नो चुनाव क्षेत्रमा पर्ने सडक शिलान्यास गर्दै मंगलबार उनले भने, ‘प्रदेश सरकारहरु पुनर्गठन गर्ने कुरामा हामीले सबै प्रदेशमा आलोपालो प्रणालीद्वारा सरकारलाई पूर्णता दिने र त्यसबाट पनि जनताको विकास निर्माण र समृद्धिको आकांक्षा सम्बोधन गर्न एकीकृत रुपमा काम अगाडि बढाउने ।’ प्रधानमन्त्री प्रचण्डले संघीय सरकारलाई पूर्णता दिन पनि छलफल सुरु भइसकेको बताए । ‘हिजोबाट फेरि राजनीतिक वातावरण, एउटा लय पक्डिएको छ । झण्डै ११ वटा पार्टीको विश्वासको मतसहित अब हामी सरकारलाई पूर्णता दिने प्रक्रियामा छौं । आज विहानबाटै नेपाली कांग्रेस र अन्य पार्टीहरुसँग गम्भीर संवाद छलफल भएको छ सरकारलाई पूर्णता दिने बारेमा’ उनले भने । कार्यक्रममा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार बिकासमन्त्री नारायणकाजी श्रेष्ठले जनताको भावना अनुसार काम गर्न सरकार प्रतिवद्ध भएको बताए । ‘यो सडकको शिलान्यास मात्र होइन, जनतासँग गरिएका प्रतिवद्धता पूरा गर्ने कार्यको उद्घाटन पनि हो’, उनले भने, ‘अब सरकारले दृढताका साथ बिकास निर्माणका काम अघि बढाउँछ ।’ पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मंगलबार शिलान्यास गरिएको सडक गोरखा र लम्जुङलाई जोड्ने रणनीतिक सडक भएको बताए । ‘मेरो लागि सबै भन्दा खुसीको क्षण हो । म आफै अर्थमन्त्री हुँदा यो वाटो स्तरोन्नतीको कार्य सुरु गरेको थिएँ,’ उनले भने, ‘तर बारम्बार पहल गर्दा पनि यसले पूर्णता पाउन सकेको थिएन ।’