मनास्लु हिमाल आरोहणका लागि १५ जनाले अनुमति लिए
मनास्लु हिमाल आरोहणका लागि १५ जनाले अनुमति लिए
वसन्त ऋतुका लागि मंगलबारसम्म चुमनुव्री गाउँपालिका–१ सामागाउँको मनास्लु हिमाल आरोहण गर्न १५ जनाले अनुमति लिएका छन् ।
पर्यटन विभागका अनुसार तिन महिला र १२ पुरुषले मनास्लु हिमाल आरोहणको अनुमति लिएका छन् । मंगलबारसम्म १० वटा हिमालका लागि अनुमति जारी भएको छ । जसमा अन्नपूर्ण र सगरमाथाबाहेक मनास्लुका लागि १५, हिमलुङ हिमालका लागि १२, पाङ्ग्री गोल्डुम्बाका लागि ६, बरुण त्से र थोरोङ पीकका लागि ५÷५ जनाले अनुमति लिएको विभागले जनाएको छ । नुप्त्सेका लागि ३, सुर्र्मा सरोबारका लागि २ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस ऋतुमा मंगलबारसम्म अन्नपूर्ण प्रथमका लागि सबैभन्दा धेरै ५ टोलीका ५४ जनाले अनुमति लिएका छन् । दोस्रो धेरै अनुमति सगरमाथाका लागि जारी भएको छ । मंगलबारसम्म सगरमाथामा ४ टोलीका ३१ जना सदस्यले अनुमति लिएका छन् । जसमा ७ जना महिला छन् ।सगरमाथामा जारी अनुमति मध्ये नेपालबाट १ समूहका १० जनाले अनुमति लिएका छन् । दोस्रो स्थानमा अमेरिकाका ८ जना छन् । चीनका ५, अष्टूेलियाका २÷२ र जर्मनी, हंगेरी, सिंगापुर र दक्षिण अफ्रिकाका १÷१ जनाले अनुमति लिएका छन् । सबै हिमालतर्फ अहिलेसम्म ३३ मुलुकका आरोहीले अनुमति लिएका छन् । जसमा सबैभन्दा धेरै नेपाली (३४ जना) छन् । दोस्रो स्थानमा अमेरिकी नागरिक १४ जना छन् । दक्षिण कोरियाबाट ९, भारत, चीन, क्यानडाबाट ८÷८ जनाले अनुमति लिएको विभागले जनाएको छ । मंगलबारसम्म हिमाल आरोहणबाट सरकारले ४ करोड ९५ लाख ५ हजार ३७० रुपैयाँ रोयल्टी संकलन गरेको छ ।