बूढीगण्डकी जलविद्युत् आयोजना छिट्टै अगाडि बढ्छः प्रधानमन्त्री
बूढीगण्डकी जलविद्युत् आयोजना छिट्टै अगाडि बढ्छः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनालाई शीघ्र अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले मन्त्रिपरिषद् विस्तार भएको र सम्बन्धित आयोजना समन्वय गरिरहेको उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री नियुक्त भइसकेकाले अब सम्वद्ध पक्षसँग छलफल गरी आयोजना अगाडि बढाइने स्पष्ट पारे। गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलसँग आइतबार प्रधामन्त्री निवास बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्रीले आगामी बजेटमा आयोजनाका सम्बन्धमा स्पष्ट व्यवस्था गरेर नै अगाडि बढाइने जिकिर गरे । आयोजनाका बारेमा गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणापत्रमासमेत स्पष्ट रुपमा लेखिएको, सत्ता गठबन्धनमा आवद्ध दलको समेत स्पष्ट दृष्टिकोण रहेकाले कुनै द्विविधा नराख्न प्रधानमन्त्रीले विश्वास दिलाएका गाउँपालिकाका अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । सरकारले सो आयोजना निर्माणका लागि कम्पनी स्थापना गरिसकेको भए पनि काम भने प्रभावकारी हुनसकेको छैन । कूल एक हजार दुई सय मेगावाट क्षमताको सो आयोजनाको काम लामो समयदेखि अगाडि बढ्न सकेको छैन । ’प्रधानमन्त्रीको प्रतिबद्धतापछि हामी खुसी भएका छौँ, स्थानीयबासीको आशङ्कासमेत हटेको छ’, अध्यक्ष तिमिल्सिनाले भने, ‘आयोजनाको बजेट रकमान्तर भएका विषयमा स्थानीयले गुनासो गरेका थिए ।’ उनले प्रधानमन्त्रीले स्पष्ट कार्ययोजनाका साथ आयोजना अघि बढाउने प्रतिबद्धता जनाएका उनले बताए ।