फुटवल प्रशिक्षक तालिम शुरु
फुटवल प्रशिक्षक तालिम शुरु
जिल्लामा पहिलो पटक फुटवल प्रशिक्षक तालिम शुरु भएको छ । गोरखा जिल्ला फुटवल संघको व्यवस्थापन र अखिल नेपाल फुटवल संघ (एन्फा) को प्राविधिक सहयोगमा तालिम गरिएको हो । तालिममा जिल्ला फुटवल संघमा आवद्ध ११ क्लबका प्रशिक्षार्थीको सहभागीता रहेको छ । चार दिनसम्म संचालन हुने तालिममा एन्फाका शिक्षा बिभाग प्रमुख सन्चित सिंहले सहजिकरण गर्नेछन् । तालिम पश्चात परिक्षा लिएर सहभागीलाई ‘डि’ श्रेणीको प्रशिक्षक प्रमाणपत्र उपलब्ध गराइने संघका जिल्ला अध्यक्ष बिशाल गुरुङले बताए । साथै गोरखा जिल्ला प्रशिक्षक संघ पनि गठन गरिने उनले जानकारी दिए । तालिमको मंगलवार एक कार्यक्रमका बिच गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले उद्घाटन गरेका छन् । उद्घाटन पश्चात बोल्दै उनले जिल्लामा सांस्कृतिक र पर्यटन क्षेत्रको बिकाससँगै खेल क्षेत्रको बिकास पनि आवश्यक रहेको बताए । खेल क्षेत्रको बिकासका निम्ति सहयोग गर्न आफू सधै सकारात्मक रहेको उनले जानकारी दिए । संघका अध्यक्ष गुरुङको अध्यक्षता तथा मेयर रानाको प्रमुख अतिथ्यतामा भएको तालिम उद्घाटन कार्यक्रममा एन्फाका शिक्षा बिभाग प्रमुख सिंह, गण्डकी प्रदेश फुटवल संघका महासचिव दिपेन्द्र श्रेष्ठ, पत्रकार महासंघ गोरखाका सचिव बिकास मरहट्टा, प्रशिक्षार्थी मन बहादुर तामाङ लगायतले मन्तव्य राखेका थिए । जिल्लामा फुटवल प्रशिक्षक (कोच) सँगै खेलाडी उत्पादन गर्न तालिमले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।