श्रीमानको खबर पर्खेर बसेकी शोभा
श्रीमानको खबर पर्खेर बसेकी शोभा
असारको झरीमा घरको छानो चुहिने भयो । विदामा घर आएका थिए प्रहरी सहायक हल्वदार मोहनसिंह कुँवर । बर्खा लागिसकेकाले लामो समयलाई हुने गरि छानो टाल्न भ्याइएन । कुँवरले घरलाई ओत दिन छानामा त्रिपाल हाले ।
उनी छानो हाल्ने काम सकिएपछि गोरखा हिँडे । उनलाई गोरखा प्रहरीमा ड्युटी खटाइएको थियो । त्यो दिन उनी अफिस पुगेनन् । न घर फर्किए । आजसम्म उनी बेपत्ता छन् । घरमा तीन छोरी र श्रीमती मोहनको खबर पर्खेर बसेका छन् । उता प्रहरी संगठनले पनि उनको पत्तो पाएको छैन । २०६७ सालमा नेपाल प्रहरीमा भर्ती भएका कञ्चनपुरका मोहनको २०७५ मा गोरखास्थित सामागाउँ प्रहरी चौकीमा सरूवा भएको थियो । ०७६ चैतदेखि कोरोना भाइरसको माहामारी फैलिएर केही सहज भएपछि परिवार भेट्न मोहन विदामा आएका थिए । २०७७ सालको चैत ३० गते ससुराली घर धनगढी पुगेर दुई महिना विदामा बसे । बीचमा कार्यालयबाट फोन आए पनि लकडाउनका कारण गाडी नपाएर उनी गोरखा जान सकेका थिएनन् । हाजिर हुन जाने क्रममा उनी बेपत्ता भएको देखिन्छ । २०७७ चैतमा घर आएका मोहन लकडाउनका कारण समयमै कार्यक्षेत्र फर्कन नसकेको प्रहरी रिपोर्टमा उल्लेख छ । २०७८ को जेठ अन्तिममा परिवारसँग बिदा भएर कार्यक्षेत्र हाजिर हुन गोरखा जान हिडेका कुँवर असार १ गतेदेखि सम्पर्कविहीन भएका थिए । त्यसदिन गाडी नपाइएपछि कैलालीको अत्तरियाबाट काठमाडौं जादै गरेको एम्बुलेन्समा बसेर मुग्लिनसम्म पुगेको कुरा मोहनले श्रीमती शोभालाई फोनबाट जानकारी गराएका थिए । गोरखाको खोर्लावेसीसम्म पुगेर मोहनले शोभालाई मुसलधारे वर्षाका कारण एक रात त्यतै होटलमा बस्ने भनेका थिए । ‘एक गते बिहान मलाई पानी परेर खोर्लावेसी भन्ने ठाउँमा बसेको छु, अब यहाँबाट हिँडेर जाने बाटो छ, हिँडेर जान्छु, बच्चाहरूलाई राम्ररी खुवाउँनु भन्नुभयो, त्यसपछि कुरा भएन,’ शोभाले भनिन् । शोभाका लागि त्यो नै मोहनको अन्तिम फोन थियो । मोहन हराएको पाँच दिनपछि असार ६ गते आइतबार सामागाउँ प्रहरी चौकीका प्रमुखले उनी कार्यक्षेत्र नपुगेको भन्दै शोभालाई जानकारी गराएका थिए । शोभा आफन्तको सहयोगमा गोरखा पुगिन् । जिल्ला प्रहरी कार्यालयमा घटनाबारे छलफल भयो । प्रहरीले मोहन जाँदै गरेको बाटोमा निकै ठूलो पहिरो खसेको कुरा सुनाए । प्रहरीको कुरा सुनेर शोभा भावविह्वल भइन् । पहिरो गएको ठाउँसम्म जान खोज्दा प्रहरीले केही फाइदा नहुने बताएपछि शोभाले अब के गर्ने भन्नेबारे सोच्नै सकिनन् । सम्पर्कविहीन भएका मोहनको खोजीका लागि जिल्ला प्रहरी कार्यलय गोरखाले असार ७ गते कागज बनाएको शोभाको भनाई छ । ‘सुरूमा खोजी भएन, ६ गते मैले थाहा पाएँ, उताबाट घर फर्कियो कि भनेर सोधेँ, मैले सामान लिएर गएको मान्छे किन फर्किनु भनेपछि हल्लाखल्ला भयो, त्यसपछि मात्रै खोजी गर्ने भन्ने भयो,’ उनले भनिन् । त्यसपछि पाँचजनाको प्रहरी टोलीले मोहनको यात्रा विवरण खोजेको थियो । मोहनको टेलिफोनको अन्तिम कल उनी कार्यरत चौकीका प्रमुखसित भएको देखिएको शोभाको भनाइ छ । शोभाका अनुसार प्रहरीका ती कर्मचारीले मोहनलाई पानी परिरहेकाले जोखिम होला नआउन भनेको बताएको थिए । मोहनले १० बर्ष जागिर गर्दा यस्तै बाटो हिँडिएकै हो भन्दै आउँछु भनेछन् । असार १४ गते कुकुरसहितको टोलीले पहिरो खसेको ठाउँमा खोजी गरेपनि मोहनको कुनै पत्ता लागेन । ‘प्रहरीले कुकुर सुघाए, केही पनि कोट्याएन भन्यो, त्यही हो खोजी कार्य, उहाँहरूले लास भेटिएको छैन कसरी मृत घोषणा गर्ने भन्छन्, तलव पनि रोकीएको छ,’ उनले भनिन् । त्यही बाटोमा पहिरोमा परेर मोहन बेपत्ता भएको हुनसक्ने प्रहरीको अनुमान मात्रै छ । वास्तविकता खोज्ने प्रयास छ । ‘उहाँहरूले खोजी नै गर्नुभएन, जिउँदो या मरेपनि पत्ता लागउनुप¥यो, आफ्नो कर्मचारीलाई यत्रो वर्षसम्म खोज्न नसक्ने कस्तो हो प्रहरी?’ उनले प्रश्न गरिन् । जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेका अनुसार मोहन त्यो दिन गोरखा बजार पुगेको, त्यहाँ प्रहरी सँग भित्रकै साथीहरुसित भेटेको, पानी परेकाले साथीहरूले मोटरसाइकलमा बाटोसम्म पु¥याएको खुलेको छ ।‘भेटिए त हुने, केही पनि फेला परेको छैन । मरेको भए शव भेटिएको छैन ज्युँदो रहेछ भने पनि फेला परेको छैन । आम नागरिकले अनुमान गर्न मिल्छ तर हामीले तथ्य फेला नपारेसम्म केही भन्न मिल्दैन,’ लामिछानेले भने । मोहन बेपत्ता भएको बारे प्रहरीले एउटा फायल बनाएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले उपल्लो कार्यालयसँग पनि राय मागेको छ । कानुनले नै १२ बर्षसम्म फेला नपरे मृत भन्न नसकिने अवस्था रहेको उनी बताउँछन् । ‘ऐन बाहिर जाने अवस्था नरहेकाले परिवारलाई के भन्ने अन्योल छ,’ उनले भने । बेपत्ता भए खोजी हुनुपर्ने वा मृत हो भने सोही अनुसार प्रहरी संगठनबाट सहायता पाउनुपर्ने परिवारले माग गरिरहेको छ । उजुरी दिन गए कैलाली प्रहरीले गोरखाले खोज्छ भन्छ । कसैले १२ वर्ष फेला नपरे बल्ल मृत मानिने भन्छन् । त्यसपछि मात्रै शोभा र उनका छोरीले सरकारी सहयोग पाउने बताइन्छ । कानुनमा खास के लेखिएको छ त्यो थाहा नपाएकी शोभालाई भने हरेक दिन कष्ट छ । तीन बर्षदेखिको चुहिन थालेको छाना अब झनै बिग्रेको छ । मोहन जाँदा १६ महिनाकी कान्छी छोरी अब स्कुल जाने उमेरकी भएकी छन् । छोरीलाई स्कुलमा पढाउन शोभासँग पैसा छैन । ‘एकछोरी २ कक्षामा, अर्की एक कक्षामा र एउटी अब स्कुल जाने भएकी छ, नगरपालिकालाई कापीकलमका लागि कुरा गरेकी छु, ’ उनले भनिन् । छिमेकी दुई घरमा झाडुपोछा गरी शोभाले आफ्नो रुपेट र तीन छोरी पालेकी छन् । एक घरमा काम गरेर महिनामा तीन हजार पाँच सय आम्दानी हुने उनी बताउँछिन् । एउटा छोरी बिरामी भएपछि शोभाको जीवनमा थप बज्रपात आइलागेको छ । पायल्स जस्तै लक्षण भएको रोग लागेर आन्द्रा नै बाहिर निस्केपछि केही दिन अघिमात्रै उनले छोरीलाई सेती अस्पताल लगेकी थिइन् । सेतीमा उपचार नहुने बताउँदै डाक्टरले नेपालगन्ज वा काठमाडौं लैजान सुझाएका छन्। शोभासँग गाडीभाडा पनि छैन। कुनै संघसंस्थाले सहयोग गरिदेलान् कि भन्ने आशमा छिन् । उता ससुरा बिरामी परेर पाँच दिन अस्पतालमा राखेर घर लगिएको कुरा फोनबाट शोभाले थाहा पाएकी छन् । ’भेट्न जाने अवस्था छैन । मर्नुअघि बुबाले छोरीको मुख हेर्न चाहेका छन् रे,’ उनले भनिन् ।
–सेतोपाटीबाट