कानून दिवस तत्कालीन राजा रामशाहले न्याय दिने चौतारोमा अन्तरक्रिया
कानून दिवस तत्कालीन राजा रामशाहले न्याय दिने चौतारोमा अन्तरक्रिया
देशको न्यायप्रणालीमा विकृति देखिँदै आएको भन्दै त्यसको सुधारका लागि सहकार्य गर्नुपर्नेमा गोरखाका सरोकारवालाहरुले जोड दिएका छन् ।
७१ औं कानून दिवसका अवसरमा गोरखा दरवार क्षेत्रको ऐतिहासिक रामशाह चौतारामा भएको अन्तक्र्रिया कार्यक्रममा सहभागी न्यायकर्मी, राजनीतिकर्मी, कर्मचारी तथा नागरिक समाजका अगुवाहरुले न्याय प्राप्तिको प्रक्रियालाई सस्तो र छिटो बनाउनका लागि सामुहिक पहल गर्नुपर्ने निष्कर्ष निकालेका छन् । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशसभाका सभामुख कृष्ण धितालले पछिल्लो समय न्याय क्षेत्र धमिलो हुँदै गएको भन्दै यसलाई सङ्लो बनाउनुपर्ने बताए । ‘चार शय वर्ष पहिले रामशाहले बसालेको न्यायसम्पादनको थिती अहिले पनि समसामयिक छ, न्याय क्षेत्रमा ति कुरा प्रतिविम्बित हुनुपर्छ’ उनले भने, ‘न्यायप्रणाली सुधारका लागि राजनीतिक, प्रशासनिक र न्यायिक क्षेत्रविच सहकार्य हुनुपर्छ ।’ कार्यक्रममा बोल्दै उच्च अदालत पोखराका मुख्य न्यायधिश डिल्लीराज आचार्यले न्यायसम्पादनका विभिन्न अवरोधबारे चर्चा गरे । गलत कानूनका आधारमा दिने न्याय गलत हुने भन्दै उनले अनुसन्धान र बयान लगायतका कागजनै गलत बनेर आएमा तथा न्यायधिश अबुझ, भ्रष्ट र अविवेकी भएमा पनि न्याय पाउन नसकिने बताए । शोषित, पीडितका लागि कानून बनाएको भन्ने राजनीतिकर्मीहरुले प्रत्यक्ष सरोकार राख्ने वर्गसँग सुझाव नलिने गर्दा गलत कानून बन्ने गरेको उनको भनाई छ । कानून सँधै जागा रहने भएकाले कानूनले काम गरेसम्म राजनीतिले हस्तक्षेप गर्न नहुनेमा उनको जोड छ । राजनीतिज्ञले कानून बनाएपनि ऊ पनि त्यही कानूनको अधिनमा रहने भएकाले न्यायलयमा हुने अनावश्यक राजनीतिक हस्तक्षेप बन्द हुनुपर्ने मुख्य न्यायधिश आचार्यले बताए । ‘एक लाख भन्दा बढीको नगद कारोबार गर्न नपाउने, त्यसभन्दा माथिको कारोबार चेक मार्फत गर्नुपर्ने ब्यवस्था गरौं अनि तमसुकलाई मान्यता नदिने ब्यवस्था गरौं’ उनले भने, ‘त्यसबाहेक ५ शय र १ हजार दरका नोट बन्द गर्दिने हो भने कुन चाहिँ मान्छे डोकोमा पैसा बोकेर घुस खुवाउन आउँछ ?’ कार्यक्रममा गण्डकी प्रदेशसभाका सदस्य फणिन्द्र देवकोटाले न्याय प्रणाली सुधारका लागि बनाइएका आयोगहरुको काम पनि प्रभावकारी हुन नसकेको बताए । त्यस्ता आयोगहरुले केन्द्रिकृत मानसिकता बोकेर काम गरेको उनको भनाई छ । विधायकहरुले बनाएका कतिपय कानूनको औचित्यबारे पनि बहस हुनुपर्ने देवकोटाले बताए । जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापाले देशको न्याय प्रणाली सुस्त र महंगो हुँदै गएको बताए । स्थानीय तहका न्यायिक समितिहरुलाई थप सक्रिय बनाउनुपर्ने पनि उनको भनाई छ । गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले सिंगो नेपालले थाहा पाउने गरि रामशाहकालीन न्याय परम्पराको प्रचारप्रसार गरिने बताए । सत्य निरुपण तथा मेलमिलाप आयोगलाई पूर्णता दिई शान्ति प्रक्रियाको बाँकी कामलाई टुंगोमा पु¥याउनु पर्नेमा उनको जोड छ । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले रामशाहले बसालेका थितीहरुका बारेमा पर्याप्त खोज अनुसन्धान हुन नसकेको बताए । हिजोका तिनै थितीहरुको जगमा थप नयाँ कानूनी अभ्यासहरु गर्नुपर्ने उनको भनाई छ । कार्यक्रममा गोरखा संग्रहालयका प्रमुख नवराज अधिकारी र नेपाल बार एशोसिएसन गोरखाका अध्यक्ष यादव शर्माले राजा रामशाहकालीन न्यायप्रणाली र कानूनी राज्य स्थापनामा त्यसको योगदानका बारेमा चर्चा गरेका थिए । गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकर र जिल्ला न्यायधिश तेजेन्द्रप्रसाद शर्माले कानून दिवस मनाउनका लागि रामशाह चौतारोलाईनै छनौट गर्नुपर्ने कारणबारे बताए । रामशाहले न्याय सम्पादन गर्ने तौरतरीका सर्वमान्य भएरै ‘न्याय नपाए गोरखा जानू’ भन्ने भनाई प्रचलनमा आएको भन्दै जिल्ला न्यायाधिश शर्माले त्यसैको स्मरण गर्दै रामशाह चौतारोमा कार्यक्रम गरिएको बताए । गोरखा जिल्ला अदालतको आयोजना र गोरखा नगरपालिका न्यायिक समितिको सह आयोजनामा भएको कार्यक्रममा विभिन्न पालिकाका प्रमुख, उपप्रमुखको पनि सहभागीता रहेको थियो ।