बुधबारदेखि कम पानी पर्ने पूर्वानुमान
बुधबारदेखि कम पानी पर्ने पूर्वानुमान
मनसुनको न्यून चापीय रेखा सरदरको स्थानभन्दा दक्षिणतिर सर्दा बुधबारदेखि कम वर्षा हुने देखिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसमको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपासै छ । पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । यसले तराई–मधेसतिर कम पानी पर्ने सम्भावनालाई इङ्गित गर्ने मौसमविद् विनु महर्जनले जानकारी दिइन् । ‘मौसमको न्यूनचापीय रेखा पश्चिमतिर सरदरकै स्थानमा रहेकाले हल्का तथा मध्यम वर्षा भइरहेको छ । पूर्वमा दक्षिणतर्फ सरेकाले पानी कम परेको छ ।
भोलिदेखि कम पानी पर्ने अनुमान गर्न सकिन्छ,’ उनले भनिन् । मौसमविद् विनोद पोखरेलले तिब्बतबाट नेपालतिर बादल सरेकाले मध्य पहाडमा बढी वर्षा भएको र तराईका कम वर्षा भएको उल्लेख गरेका छन् । उनले ट्विटमार्फत् केही दिन तराईमा हल्का वर्षा हुने पनि प्रक्षेपण गरेका छन् ।